सुनको सिक्री चोर्न नाबालक प्रयोग गर्ने विजय पक्राउ

रुपन्देहीः नाबालकलाई प्रयोग गरी सुनका सिक्री चोर्न लगाउनेलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई नाबालकसहित ३ जना रहेका छन्।
पर्सा पटेर्वा सुगौली घर भई हाल रुपन्देही कञ्चन गाउँपालिका-४ हर्नाचौर बस्ने ३६ वर्षीय विजय राय नट तथा चोरी गर्ने सोही ठाउँ बस्ने ११ वर्षीय र १२ वर्षीय नाबालक पक्राउ परेका हुन्।
रुपन्देही कञ्चन गाउँपालिका-४ वनकसियास्थित आइतबारे हाटबजारमा टमाटर किन्ने क्रममा सोही ठाउँ बस्ने ७० वर्षीया महिलाले घाँटीमा लगाएको ३ तोला ४० लाल बराबरको सुनको सिक्री २ जना नाबालकहरूले आइतबार दिउँसो चोरी गरी भागेका थिए। सोही घटनाको अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उनीहरूलाई कञ्चन गाउँपालिका-४ वनकसिया डिहोमा लुकीछिपी हिँडिरहेको अवस्थामा चोरी भएको सुनको सिक्रीसहित फेला पारी नियन्त्रणमा लिएको हो।
थप अनुसन्धानको क्रममा उक्त कार्यमा विजयको संलग्नता रहेको खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानमा विजयले करिब एक महिनाअघि पर्सा जिल्लाको आफ्नो गाउँ घरबाट दुवै नाबालकलाई रुपन्देही कञ्चन गाउँपालिका-४ हर्नाचौरमा बोलाई उनीहरूलाई सुनको सिक्री कसरी चोर्ने र कसरी भाग्ने भनी सिकाई बजारमा भीडभाड भएको ठाउँमा लगि चोरी गराउने गरेको खुल्न आएको छ।
उनीहरूमाथि चोरी सम्बन्धी कसूरमा म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ।
असार ३०, २०७९ बिहीबार १३:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।