उपसभामुखमा कांग्रेसले भुसाल र एमालेले भट्टराईलाई अघि सार्यो

काठमाडौंः प्रतिनिधि सभाको उपसभामुख पदको लागि प्रमुख दुई दल कांग्रेस र एमालेले आफ्ना उम्मेदवार टुङ्गो लगाएका छन्। सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी पुष्पा भुसालले उपसभामुखमा मनोनयन दर्ता गराउँदा एमालेबाट विद्या भट्टराईले मनोनयन दर्ता गराएकी छिन्।
भुसालको मनोनयनमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ प्रस्तावक र एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरी समर्थक छन्।
भट्टराईको मनोनयनमा भने शान्ता चौधरी प्रस्तावक र कृष्णभक्त पोखरेल समर्थक छन्।
यसअघि एमालेले साना दलले उम्मेदवार उठाए समर्थन गर्ने जनाएको थियो। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले उम्मेदवारी दिने कुरा बाहिरिएसँगै एमालेले लोसपालाई सघाउने समेत भएको थियो। तर मनोनयन दर्ताको अन्तिम समयमा लोसपाले सत्ता गठबन्धनका उम्मेदवारलाई सघाउने भएको छ।
यसअघिकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ ०७६ मा राजीनामा दिएयता प्रतिनिधि सभाको यो पद रिक्त छ।
असार ३०, २०७९ बिहीबार १३:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।