'विशेष' विद्यालयप्रति अनुदार सरकार : जीर्ण भवन र साँघुरा कक्षा कोठामा निस्सासिँदो पढाइ

'विशेष' विद्यालयप्रति अनुदार सरकार : जीर्ण भवन र साँघुरा कक्षा कोठामा निस्सासिँदो पढाइ

काठमाडौं : जीर्ण भवन। साँघुरा कक्षा कोठा। अपर्याप्त खेल मैदान। दक्ष जनशक्ति अभाव र बढ्दो विद्यार्थी संख्या। यस्तै दु:खमा घिस्रिरहेका छन् राजधानीका 'विशेष' विद्यालय।

समावेशी शिक्षा नीति २०७३ अनुसार दृष्टिविहीन, बहिरा तथा सुस्तश्रवण र बौद्धिक अपाङ्गता गरी ३८० स्रोत कक्षा र ३२  वटा 'विशेष' विद्यालय देशभर सञ्चालनमा छन्।

तर, अन्य सामुदायिक विद्यालय सरह मुलधारमा राख्नुपर्ने मागसहित काठमाडौँका विशेष विद्यालयहरु संघर्षरत छन्।

काठमाडौँ महानगर मातहतमा मात्र अहिले केन्द्रीय बहिरा माध्यमिक विद्यालय, सुस्त मनस्थिति पारिवारिक सरसल्लाह तथा स्रोत विद्यालय र निर्मल बाल विकास विद्यालय गरी जम्मा तीन वटा विशेष विद्यालय छन्। बहिरा विद्यालय बाहेक अन्य दुवै विद्यालय बौद्धिक अपांगता भएका विद्यार्थीका लागि हो। तर भौतिक संरचना र दक्ष जनशक्तिको अभावमा यी विद्यालयका विद्यार्थी निस्सासिएर पढ्न बाध्य छन्।

विशेष शिक्षा परिषद् हुँदै अहिले स्थानीय सरकारको मातहतमा रहेका यी विद्यालय प्राथमिकतामै नपरेको शिक्षकहरुको गुनासो छ।

विभिन्न किसिमका अपांगता भएका व्यक्तिहरुका लागि 'विशेष शिक्षा’ प्रदान गर्ने उद्देश्य विशेष विद्यालयको हुन्छ। अहिले जनस्तरमा जनचेतनाको वृद्धि भएसँगै यस्ता विद्यालयमा विद्यार्थी बढ्न थालेको शिक्षकहरु बताउँछन्। 

'पहिला-पहिला अपाङ्गता भएका व्यक्तिलाई विद्यालय पढाउनु त टाढाको कुरा घर बाहिर निस्कनै दिइँदैनथ्यो,’ सुस्त मनस्थिति विद्यालयका प्रधानाध्यापक सोमबहादुर श्रेष्ठ भन्छन्, 'अहिले विस्तारै पढाउनुपर्छ भन्ने चेतना बढ्न थालेको छ। त्यसैले विद्यार्थीको संख्या बढेको छ। बरु उनीहरुको शिक्षाका लागि थप विद्यालय र शिक्षकको आवश्यकता छ।’

विशेष विद्यालय पूर्ण रुपमा नि:शुल्क भएको र यस्ता विद्यालय कम भएका कारण पनि विद्यार्थी बढिरहेको देखिएको शिक्षकहरुको भनाइ छ। 

सरकारले २०२१ सालबाट विशेष शिक्षा कार्यक्रम सुरु गरेको भए पनि २०२८ सालदेखि मात्र यो कार्यक्रम लागू भएको पाइन्छ। तर २०३० सालमा भने 'विशेष शिक्षा परिषद’ गठन गरियो। अन्तर्राष्ट्रिय अपाङ्ग वर्ष सन् १९८१ पछि विदेशी दातृ संस्थाहरुले यस्ता विद्यालयमा धेरै सहयोग गरे।

विदेशी सहयोगबाट सञ्चालन भएका यस्ता विद्यालय सञ्चालनमा अन्योल देखिएपछि आर्थिक वर्ष २०४८/०४९ देखि सरकारले यहाँका शिक्षक, कर्मचारीको तलब-भत्ता सरकारले व्यहोर्ने गरी बजेट घोषणा गरियो। विशेष शिक्षा परिषदलाई सक्रिय बनाउनका लागि शिक्षा तथा संस्कृति मन्त्रीको अध्यक्षतामा उक्त परिषदको पुनगर्ठन समेत गरियो। 

शिक्षा नियमावली २०५९ मा पनि शिक्षा मन्त्रीको अध्यक्षतामा विशेष शिक्षा परिषद् क्रियाशील गरिएकोमा देश संघीयतामा गएसँगै यस्ता विद्यालयहरु स्थानीय तहमा समावेश भयो। तर हालसम्म विशेष विद्यालय मुलधारमा आउन भने सकेका छैनन्।

आफ्नो विद्यालय मुलधारमा आउन नसक्दा विशेष विद्यालयको मुख्य उद्देश्य नै अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक समावेशीकरण गर्ने भए तापनि गुणस्तरीय जीवनयापन र आत्मनिर्भर गराउने कार्यक्रममा अपेक्षित उपलब्धि हासिल हुन नसकेको यहाँका प्रधानाध्यापकहरु स्वीकार्छन्।

विशेषगरी बौद्धिक अपाङ्गता भएका विद्यार्थीको भने विद्यालयबाट बाहिर गएपछि कुनै भविष्य नै नभएको उनीहरुको भनाइ छ। विशेष विद्यालय लागि भनेर पाठ्यक्रम विकास केन्द्रले नै छुट्टै पाठ्यक्रम पनि बनाएको हुन्छ।

संघर्षरत काठमाडौँ महानगरका विशेष विद्यालय

केन्द्रीय बहिरा माध्यमिक विद्यालय, नक्साल 
काठमाडौं महानगरपालिका-१ मा अवस्थित केन्द्रीय बहिरा माध्यमिक विद्यालयमा १५ वटा कक्षा सञ्चालनमा छन्। तर अहिले यो विद्यालयमा जाने बाटो हिलाम्मे छ। गेटभित्र पसेपछि चार वटा बस देखिन्छन्। विद्यार्थी ल्याउने र पुर्याउने समय बाहेक अन्य समय बस त्यहीँ नै हुन्छन्। सबै बस भारत सरकारले सहयोग स्वरुप दिएको हो।

समस्या बस होइन। बसले ओगटेको ठाउँ हो। विद्यालय परिसरभित्र खाली रहेको ठाउँ भनेको त्यही मात्र हो। विद्यार्थीको लागि खेल मैदान छैन। त्यति मात्र होइन, विद्यालय आफैं नेपाल बाल संगठनको जग्गामा छ। त्यसले गर्दा नयाँ भवन बनाउनु पर्दा समस्या हुने प्रधानाध्यापक उपेन्द्र पराजुली बताउँछन्। भूकम्पले क्षतिग्रस्त बनाएका कम्पाउण्डहरु अनि अझै बनाउन नसकिएको उनले बताए। 

नेपालकै पहिलो र विद्यार्थी संख्याको हिसाबले पनि सबैभन्दा ठूलो विशेष विद्यालयको रुपमा परिचित यो विद्यालयमा ३८८ जना विद्यार्थी अध्ययनरत छन्। शिक्षक २२ जना र कर्मचारी १६ जना छन्।

पूर्वप्राथमिकदेखि १२ कक्षासम्म पढाइ हुने यस विद्यालयमा विद्यार्थी संख्या बढेसँगै अन्य स्रोतको कमी भएको प्रधानाध्यापक पराजुलीको भनाइ छ। उनी भन्छन्, 'विद्यार्थी बढिरहेका छन्। एउटा कक्षामा १२ जनासम्म मात्र विद्यार्थी राखेर पढाउनुपर्ने भन्ने मान्यता भए पनि हाम्रोमा ३०/३५ जनासम्म विद्यार्थी हुन्छन्।’

यहाँ प्राय: सबै दृश्य भएका शैशिक सामग्रीको मात्र प्रयोग हुने गर्छ। उनीहरुको प्राथमिक भाषा भनेको नेपाली सांकेतिक भाषा हो। यहाँ पढाउन आउने शिक्षकले कम्तीमा चार महिना सांकेतिक भाषाको तालिम लिएको हुनुपर्छ।

'विद्यार्थीले सबै कुरा हेरेर पढ्ने र सिक्ने हुन्। तर सबै सामग्रीहरु पर्याप्त बनाउन सकिएको छैन,’ उनी भन्छन्, 'मसलन्दबाट आउने रकमले नै पुर्याउनुपर्ने अवस्था छ।’ 

विशेष शिक्षा परिषदबाट अहिले महानगरपालिका अन्तर्गत आए पनि विद्यालयमा खासै फरकपन नआएको उनी बताउँछन्। उनी भन्छन्, 'पहिला विशेष शिक्षा परिषदबाट बजेट आउँथ्यो, अहिले महानगर हुँदै आउँछ, त्यत्ति हो फरक।’ 

१२ पास भएका विद्यार्थी लागि यहीँ बिएड कक्षाको सुविधा पनि छ। अन्य पढाइको लागि भने विकल्प छैन। यहाँका विद्यार्थी पनि सामान्य विद्यार्थी पढ्ने कलेजमै जानुपर्ने बाध्यता छ। 

सुस्त मनस्थिति पारिवारिक सर-सल्लाह तथा स्रोत विद्यालय, सिनामंगल 
यो विद्यालयमा पनि कक्षा कोठा साँघुरा छन्। खेल मैदान पनि छैन। विद्यार्थीलाई तल-माथि गर्न अफ्ठ्यारो छ। बौद्दिक अपाङ्गता भएका विद्यार्थी पढ्ने यस विद्यालयमा कक्षा कोठाभन्दा पनि क्षमता अनुसार समूह छुट्याएर राखिन्छ। 

विद्यार्थीको नाम दर्तापछि स्वास्थ्य परीक्षण गरेर उनीहरुको क्षमता अनुसारको समूहमा राख्ने गरेको प्रधानाध्यापक सोमबहादुर श्रेष्ठले बताए। 'यो कक्षा पास भयो अब अर्को कक्षामा राख्ने भन्ने हुँदैन,’ उनी भन्छन्, 'समूह अनुसार सिकाइमा फरक चाहिँ पर्न जान्छ। तर कक्षा बढ्दै जाने भन्ने हुँदैन।’

बौद्दिक अपाङ्गता भएका विद्यार्थीको अवस्था झन् कमजोर छ। त्यस्ता विद्यार्थीले पाठ्यक्रम अनुसार १८ वर्षसम्म विशेष विद्यालयमा पढ्ने भन्ने छ। तर त्यसपछि कता जाने भन्ने वैकल्पिक विद्यालय नै छैन। श्रेष्ठ भन्छन्, 'विकल्प नहुँदा १८ वर्ष कटिसकेका विद्यार्थी पनि पनि हाम्रै विद्यालयमा आइराखेका छन्। २४  वर्षसम्मको विद्यार्थी समेत छन्। उनीहरुलाई कहाँ पठाउने?’

स्कुले शिक्षा प्राप्त गरिसकेपछि विद्यार्थीलाई कुनै व्यावसायिक सिप सिकाएर काम गर्ने अवसर दिनुपर्छ भन्ने हाम्रो माग छ। 'बौद्दिक अपाङ्गता भएका विद्यार्थीका अविभावकलाई यस्तो विद्यालय हुन्छ भन्ने समेत थाहा हुँदैन। यस्ता विद्यार्थीलाई  कसरी र के सिकाउनुपर्छ भन्ने नै थाहा हुँदैन,’ उनी भन्छन्, 'अहिले विद्यार्थीको संख्या बढ्दै गए पनि धेरै अविभावक यस्ता बालबालिकालाई घरबाट बाहिर ननिकाल्ने भन्नेमै हुनुहुन्छ।'

बौद्दिक अपाङ्गता भएका विद्यार्थीलाई कसरी आत्मनिर्भर हुने भनेर सिकाउनु नै विद्यालयको मुख्य उद्देश्य हुने श्रेष्ठ बताउँछन्। 'आफ्नो दैनिक क्रियाकलाप आफैं कसरी गर्ने भनेर सिकाउने हो,' उनी भन्छन्, 'तर विद्यालयमा स्रोत, साधन र बजेट अभावमा चाहेजति गर्न सकिएको छैन।'

विद्यार्थीलाई सिकाउन चाहिने सामग्रीको जोहो गर्न समेत धौधौ परेको उनको भनाइ छ। सीमित स्रोत र साधनका कारण यो विद्यालयले धेरै विद्यार्थी भर्ना लिन पनि सकेको छैन।

अहिले यो विद्यालयमा पाँच जना शिक्षक र एक/एक जना कार्यालय सहयोगी, ड्राइभर र आया गरी जम्मा ८ जना छन्।  विद्यार्थी जम्मा ४६ जना छन्।

विशेष विद्यालय मुलधारमा नहुनुले पनि धेरै कठिनाइ प्रधानाध्यापक श्रेष्ठ बताउँछन्। अन्य सामुदायिक विद्यालयका शिक्षकले तलब-भत्ता र पेन्सन पाउने भए पनि आफूहरुले तलब बाहेक अन्य सुविधा नपाउने उनको गुनासो छ।

'हाम्रो विद्यालय पनि मुलधारमा जानुपर्छ र हामीले पनि अन्य सामुदायिक विद्यालयका शिक्षक-कर्मचारी सरह सेवा-सुविधा पाउनुपर्छ भनेर हाम्रो माग छ,’ उनी भन्छन्।

यस विद्यालयको लागि पनि भारत सरकारले सहयोग स्वरुप एउटा बस दिएको छ। 'हाम्रा विद्यार्थीका अविभावक गरिबीको चपेटामा छन्। उनीहरु पैसा तिर्न सक्दैनन्। हामी आफैं पनि आर्थिक रुपमा कमजोर छौं। हाम्रो विद्यालयको बस दैनिक रुपमा ५० किलोमिटरसम्म कुदिरहेको हुन्छ। त्यसको लागि दैनिक रुपमा दुई हजार/पच्चीस सय त तेलमै खर्च हुन्छ। अरु केही नभए पनि तेलको खर्च चाहिँ काठमाडौँ महानगरपालिकाले दिनुपर्यो भनेर हामीले माग राखिरहेका छौं,' प्राधान्याध्यापक श्रेष्ठले भने।

असार ३०, २०७९ बिहीबार १२:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।