नास्टलाई मानित विश्वविद्यालयका रूपमा काम गर्न आग्रह

नास्टलाई मानित विश्वविद्यालयका रूपमा काम गर्न आग्रह

काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विश्वविद्यालयहरूसँगको सहकार्य र अनुसन्धान केन्द्रित मानित विश्वविद्यालयको अवधारणामा काम गर्नुपर्ने बताएका छन्। प्रतिष्ठानको ४५औं प्राज्ञ सभामा आज बौल्दै उनले विश्वविद्यालयसँग सहकार्य गरी देखिने गरी काम गर्नुपर्नेमा जोड दिए।

मन्त्री पौडेलले नेपालमा विज्ञान र प्रविधि शिक्षालाई प्रवर्द्धन गर्ने, परम्परागत ज्ञान र सीपलाई आधुनिकीकरण एवं संरक्षण गर्ने, उपयुक्त प्रविधिको पहिचान गरी प्रविधि हस्तान्तरण गर्दै राष्ट्रको सर्वोपरी विकासमा सेवा पुर्याउने गरी नास्टले काम गर्दै आएकामा प्रशंसा पनि गरे।

यस्तै उनले प्रतिष्ठानले विज्ञान तथा प्रविधि नीति २०६४, विज्ञान, प्रविधि र नवप्रवर्तन नीति २०७५ र नीति कार्यान्वयन खाका २०७७ तर्जुमा गरी विज्ञान प्रविधि क्षेत्रको प्रवर्द्धनमा उल्लेख्य भूमिका खेलेको बताए।

सभामा विशिष्टकृत अनुसन्धान केन्द्र स्थापना गर्न सात वटै प्रदेशमा विशिष्टकृत अनुसन्धान केन्द्र राख्ने निर्णय समेत भएको छ। प्रदेश नं १ को विराटनगर, मधेश प्रदेशको बर्दिबास, बागमती प्रदेशको चितवन, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर राख्ने प्रस्ताव गरिएको थियो।

सभामा नेपाल सरकारबाट आर्थिक वर्ष २०७९/८० का लागि छुटिएको २० लाख बजेट पुर्याउने र थप बजेटका लागि सरकारसँग पहल गर्ने निर्णय समेत भएको छ। सभाले प्रदेशस्तरीय अनुसन्धान केन्द्र स्थापना एवं सञ्चालनका लागि केन्द्रीय र व्यवस्थापन समिति गठन गरेको छ।

असार ३०, २०७९ बिहीबार १२:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।