विश्वकप क्रिकेट लिग टु: स्कटल्याण्डमाथि नेपालको पहिलो जित

काठमाडौंः आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टुमा नेपालले पहिलो जित हात पारेको छ। गए राति सम्पन्न खेलमा स्कटल्याण्डलाई हराउँदै नेपालले दोस्रो खेलमा जित हात पारेको हो।
नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको हो। यो स्कटल्याण्डमाथि नेपालको पहिलो जित पनि हो।
टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको नेपालले स्कटल्याण्डलाई ४२ ओभर पाँच बलमा १४४ रनमै समेट्यो। १४५ रनको विजयी लक्ष्य नेपालले २५ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर भेटायो।
नेपालको लागि आसिफ शेखको ७१ रन, कुशल भुर्तेलले २७ रन, देव खनालले चार, दीपेन्द्रसिंह ऐरीले तीन तथा आरिफ शेखले एक रन बनाए। रोहितकुमार पौडेल ३४ रनमा अविजित रहे।
बलिङतर्फ स्कटल्याण्डका गाभिन मेनले तीन तथा एड्रिन निल र रिची बेरिङटनले एक/एक विकेट लिए। त्यसअघि ब्याटिङ गर्ने क्रममा स्कटल्याण्डका गाभिन मेनले अविजित ६४ रन बनाए। मार्क वाटले १७, साफ्यान शारिफले १६ र कलुम म्याकलोडले १३ रनको योगदान दिए।
बलिङतर्फ नेपालका सोमपाल कामी र मोहमद आदील आलमले तीन/तीन, सन्दीप लामिछानेले दुई तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए।
यसअघि पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो। स्कटल्याण्डको यो पहिलो हार हो। पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले हराएको थियो। जितसँगै नेपालले १८ खेलमा १७ अङ्क जोडेको छ। नेपाल अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ।
२२ खेल खेलेको स्कटल्याण्ड ३० अङ्कका साथ दोस्रो स्थानमा कायमै छ। सिरिजअन्तर्गत अब नेपालले तेस्रो खेल शनिबार नामिबियासँग खेल्नेछ।
असार ३०, २०७९ बिहीबार ०७:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।