काठमाडौँ प्लाजाको ७ करोड भाडा उठेन

काठमाडौँ : काठमाडौँ प्लाजाको १३ महिनाको ७ करोड भाडा अझैँ नउठेको महालेखा परीक्षकको प्रतिवेदनले खुलाएको छ। भवन खाली गराउने विवादसँगै लामो समयदेखि भाडा उठ्न नसकेको हो।
प्रतिवेदनमा २०७८ आषाढ मसान्तसम्म १३ महिनाको भाडा कम्पनीले ट्रस्टलाई बुझाएको नदेखिएको र महानगरपालिकासँग भएको सम्झौताअनुसारको भाडालाई आधार मान्दा ७ करोड ८६ लाख ५० हजार भाडा बापत ट्रस्टको कार्यालयले प्राप्त गर्नुपर्ने देखिएको उल्लेख छ।
प्रतिवेदनको अंश
काठमाडौँ महानगरपालिका, कमलादीस्थित ५ रोपनी २ पैसा जमिनमा रहेको काठमाडौँ प्लाजाको भवन लिजमा दिने सम्बन्धमा साबिकको राजदरबारसँग संवत् २०५०। ३ । ३ मा २७ वर्षको लागि एक कम्पनीसँग सम्झौता भएकोमा उक्त सम्झौतालाई नै कायम राख्ने गरी नेपाल ट्रस्टले २०६६।९।२३ मा पूरक सम्झौता गरेको देखिन्छ।
नेपाल सरकार, मन्त्रिपरिषद्ले २०७७।३।२ मा उक्त कम्पनीसँग सहकार्य तोड्ने र २०७७।३।३ देखि मासिक ६० लाख ५० हजार भाडा लिने तथा प्रत्येक ५ वर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि गर्ने गरी १० वर्षका लागि महानगरपालिकालाई उक्त भवन लिजमा दिने निर्णय गरेको देखिन्छ।
उल्लिखित मितिदेखि २०७८ आषाढ मसान्तसम्म १३ महिनाको भाडा कम्पनीले ट्रस्टलाई बुझाएको देखिँदैन। महानगरपालिकासँग भएको सम्झौताअनुसारको भाडालाई आधार मान्दा यस अवधिको ७ करोड ८६ लाख ५० हजार भाडा बापत ट्रस्टको कार्यालयले प्राप्त गर्नुपर्ने देखिन्छ ।
मन्त्रिपरिषद्ले महानगरपालिकालाई उक्त भवन लिजमा दिने निर्णय विरुद्ध समय थप गर्न अदालतमा मुद्दा दायर गरेको देखिन्छ।
ट्रस्टको कार्यालयले काठमाडौँ प्लाजामा भाडामा बसिरहेका व्यापारीलाई २०७७ चैत्र मसान्तसम्म भवन खाली गर्न गराउन २०७७।१२ । २५ मा अन्तिम पटक सूचना जारी गरेकोमा सो भवन आंशिक रूपमा मात्र खाली भएको जानकारी दिएको छ।
नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा ढिलाइ हुँदा एकातिर नयाँ सम्झौताअनुसार लिजमा लिने काठमाडौँ महानगरपालिकाले सो जग्गा र भवन उपभोग गर्न नपाउने र अर्कातिर ट्रस्टलाई प्राप्त हुनुपर्ने भाडा समयमा प्राप्त नहुने अवस्था छ।
अतः नेपाल सरकारले निर्णय गरेको मितिदेखि हालसम्मको बाँकी भाडा असुल गरी सो भवन अविलम्ब खाली गराई नयाँ सम्झौताअनुसार लिज व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।
असार २९, २०७९ बुधबार २२:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।