कांग्रेस केन्द्रीय समिति बैठकमा उठ्यो प्रदेश र धर्मनिरपेक्षता खारेजीको माग 

कांग्रेस केन्द्रीय समिति बैठकमा उठ्यो प्रदेश र धर्मनिरपेक्षता खारेजीको माग 

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रदेश र धर्मनिरपेक्षता खारेजीको माग उठेको छ। बैठकमा बोल्दै केन्द्रीय सदस्य भीम पराजुलीले उक्त माग उठाएका हुन्। 

‘देशमा धार्मिक बहसका कुरा पनि उठिरहेका छन्। धर्मान्तरका कुराहरू पनि त्यतिकै आएका छन् । यी सबैलाई रोक्न वैदिक सनातन धर्मको मूल्य मान्यता अनुसार हिन्दु धर्मलाई मुख्य एजेन्डा बनाइ नेपाली कांग्रेसले धर्मनिरपेक्षता हटाई धार्मिक स्वतन्त्रता कायम गर्न केन्द्रीय कार्यसमितिमा प्रस्तावको रूपमा राख्न चाहन्छ’, उनले भने, ‘यसले कांग्रेसलाई सम्पूर्णरूपमा हित गर्ने छ। यस एजेन्डालाई नेपाली कांग्रेसले नै नेतृत्व लिओस् भन्ने मेरो आग्रह छ।’

उनले अहिलेकै अवस्थामा प्रदेश सरकार चलिरहे देशमा यो भन्दा ठूलो बेथिति र जनतामा वितृष्णा पैदा हुने बताए। यसबाट चरम आर्थिक संकट निम्तिने खतरा बढ्ने देखिने भन्दै उनले प्रदेश सरकार बलियो नबनाउने हो भने हटाउँदा ठिक हुने धारणा राखे।

यसअघि मंगलबारको बैठकमा केन्द्रीय सदस्य प्रकाश स्नेहीले पनि धर्म निरपेक्षताको पुनरावलोकन गर्न जरुरी रहेको बताएका थिए।, ‘धर्म नमान्ने कम्युनिस्ट हुने, धर्म मान्ने राप्रपा हुने अवस्थामा कांग्रेसको भोट बैंक के हो? हिन्दु धर्मको विषय लिएर निर्वाचनमा जाने कि नजाने? छलफल गरौँ । धर्म निरपेक्षताको पुनरावलोकन गर्न जरुरी छ।’ उनको भनाइ थियो।

उनले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न पनि प्रस्ताव गरेका थिए।

असार २९, २०७९ बुधबार १७:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।