मोबाइल चोरीमा संलग्न व्यक्ति ८० राउण्ड गोलीसहित पक्राउ

झापाः भद्रपुर नगरपालिका-५ का १८ वर्षीय मोहम्बद प्यारे मोबाइल चोरीको आरोपमा पक्राउ परेका छन्। पक्राउ गर्ने क्रममा प्रहरीले उनको साथबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोली समेत बरामद गरेको छ।
यही असार २४ गते राति पुरानो भद्रपुरमा राजु अग्रवालले संचालन गर्दै आएको प्रियंका मोबाइल पसलबाट पसलभित्र रहेका विभिन्न कम्पनीका मोबाइल २९ थान, घडी दुई थान र नगद ६१ हजार ५०० रुपैयाँ गरी जम्मा पाँच लाख १८ हजार २०० मूल्य बराबरको चोरी भएको थियो। लगत्तै चोरीमा संग्लग्नको खोजतलासमा खटिएको प्रहरी टोलीले प्यारेलाई २८ गते राति पक्राउ गरेको हो।
उनलाई सोधपुछ र अनुसन्धान गर्ने क्रममा चोरी भएकामध्ये एक थान मोबाइल, मोबाइलको चार्जर २७ थान र प्यारेको घरबाट ८० राउण्ड पेस्तोलको गोली बरामद भएको हो।
यसका साथै उनले सटर फुटाउन प्रयोग गरेको रड र पसलमा लगाएको तोडिएको ताला समेत बरामद भएको छ। घटना सम्बन्धमा अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
असार २९, २०७९ बुधबार १३:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।