बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले बजेटको ६१ प्रतिशत मात्र गर्यो खर्च

काठमाडौंः बागमती प्रदेशको यातायात तथा पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले भौतिक पूर्वाधारको विकास तथा निमार्णको कार्यमा चालु आर्थिक वर्षमा ६१ प्रतिशत बजेट मात्र खर्च गरेको छ। निर्देशनालयले रु. सात अर्ब ४२ करोड ७१ लाख खर्च गरेको हो।
पूर्वाधार निर्देशनालय तथा मातहतका निकायका लागि चालु आव २०७८/७९ मा रु. १२ अर्ब १२ करोड नौ लाख विनियोजन भएको निर्देशनालयका सूचना अधिकरी हरिप्रसाद ओझाले जानकारी दिए।
निर्देशनालयअन्तर्गत रहेको पूर्वाधार विकास कार्यालय चितवनले ४९.८४ प्रतिशत, पूर्वाधार विकास कार्यालय ललितपुरले ५७.४८, पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकले ५३.९६, पूर्वाधार विकास कार्यालय रामेछापले ५४.९९, पूर्वाधार विकास कार्यालय नुवाकोटले ६०.८५, प्रादेशिक सडक डिभिजन कार्यालय धादिङले ५७.१४ र प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीले ७८.२१ प्रतिशत खर्च गरेको बताइएको छ।
यसैबीच यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले हेटौंडा उपमहानगरपालिका–११ र १२ जोड्ने राप्ती खोलामा रु २७ करोड ४६ लाखको लागतमा पक्की पुल निर्माण गरेको छ। तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलद्वारा शिलान्यास गरिएको सो पुल २१५ मिटर लामो छ।
सो निर्देशनालयका निर्देशक सहदेव भण्डारीले प्रदेश सरकार गठन भएदेखि हालसम्म ७१ पुल निर्माण भइसकेको बताए। हाल ३० पुल निर्माणाधीन अवस्थामा छन्।
असार २९, २०७९ बुधबार ०८:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।