आज २०९औं भानु जयन्ती

आज २०९औं भानु जयन्ती

काठमाडौंः आदिकवि भानुभक्त आचार्यको आज २०९औं जन्मजयन्ती रहेको छ। आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी भानु जयन्ती मनाइँदैछ।

संस्कृत भाषामा लेखिएको रामायणलाई नेपाली भाषामा अनुवाद भानुभक्तले नै गरेका थिए। त्यसैले भानुभक्तलाई भाषिक एकीकरणको नायक पनि मानिन्छ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए।

भानुभक्तको ‘बधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन्। यस्तै कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए– ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’।

आज विभिन्न भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले कार्यक्रम गरी भानुजयन्ती मनाउँदै छन्।

भानुभक्तको निधन विसं १९२५ साल असोजमा भएको थियो। भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी रहेका देश एवं स्थानमा समेत उल्लासपूर्वक मनाउने गरिन्छ।

असार २९, २०७९ बुधबार ०७:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।