बुधवारबाट मतदाता नामावली दर्ता अनलाइनबाटै, औँठाछाप दिन भने कार्यालय जानुपर्ने

बुधवारबाट मतदाता नामावली दर्ता अनलाइनबाटै, औँठाछाप दिन भने कार्यालय जानुपर्ने

काठमाडौँ : बुधवारबाट मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन कार्यालय अगाडि लामो लाइन बस्ने झन्झट हटेको छ। निर्वाचन आयोगले बुधवारबाट मतदाता नामावलीमा नाम अनलाइनबाटै दर्ता गर्न सकिने सुविधा सुरु गर्न लागेको हो।

आयोगका अनुसार बुधवारबाट ‘भोटर लिस्ट रजिस्ट्रेसन’ सिस्टमको परीक्षण सुरु हुँदैछ। आयोगका अनुसार तत्कालका लागि यो सेवा काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा सुरु गर्न लागिएको हो।

पहिलो चरणको परीक्षणमा कुनै व्यवधान नआए अन्य क्षेत्रमा समेत क्रमशः यो सेवा विस्तार गरिने आयोगको योजना रहेको छ।

बुधवारबाट फोटो सहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता नगरेका नागरिकले आयोगको वेबसाइटमा गएर व्यक्तिगत विवरण भरेर अनलाइनबाटै पेस गर्न सक्नेछन्। त्यसपछि फारम अनलाइनबाट पेस गर्दा प्राप्त हुने सङ्केत नम्बर सहितको प्रिन्ट कपी र आवश्यक कागजात लिएर फोटो तथा औँठा छाप दिनका लागि भने सम्बन्धित निर्वाचन कार्यालयमा जानुपर्नेछ।

आयोगले मोबाइलबाटै व्यक्तिगत विवरण राख्न सकिने गरी सफ्टवेयर डिजाइन गरिएको, विवरणसहितका कागजात अपलोड गरेपछि व्यक्तिका मोबाइलमा त्यसको नम्बर उपलब्ध गराइने जनाएको छ।

असार २८, २०७९ मंगलबार २२:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।