व्यापारी घरानादेखि आपराधिक पृष्ठभूमिकासम्मले पाए नयाँ क्यासिनो सञ्चालनको अनुमति

व्यापारी घरानादेखि आपराधिक पृष्ठभूमिकासम्मले पाए नयाँ क्यासिनो सञ्चालनको अनुमति

काठमाडौँ : पर्यटन मन्त्रालयले यस वर्ष आठ नयाँ होटललाई क्यासिनो र मिनी क्यासिनो सञ्चालनको अनुमति दिएको छ। मन्त्रालय अन्तर्गतको पर्यटन विभागले २०७८/७९ मा दुई वटा ठुलो र छवटा साना क्यासिनो सञ्चालन गर्न होटलहरुलाई अनुमति दिएको हो।

अनुमति पाउने व्यापारिक घरानादेखि आपराधिक पृष्ठभूमिका समेत छन्। झापाको धुलाबारीमा रहेको भेगस सिटी इन्टरटेन्मेन्ट प्रालिको होटल मेची क्राउन प्लाजाले गत  असोजदेखि क्यासिनो सञ्चालन गरिरहेको छ।

भारतीय क्यासिनो कम्पनी बिग ड्याडीले व्यवस्थापन गर्दै आएको क्यासिनोको प्रवर्धनमा भारतीय कलाकारहरू आउने गरेका छन्। यसमा क्यासिनोमा मिटर ब्याजमा लगानी गरेर अकुत सम्पत्ति जोडेका काभ्रेमा बलराम सापकोटाको समेत लगानी रहेको छ।

यता काठमाडौँको ठमेलमा छायादेवी कम्प्लेक्समा होटल एलफ्टले क्यासिनो सञ्चालन गरिरहेको छ। गत मङ्सिरमा विभागबाट अनुमति पाएको थियो। छाँया सेन्टरमा बैङ्क लगायतका क्षेत्रमा लगानी गरिरहेको पाण्डे समूहको लगानी रहेको छ।

बाँकेको होटल स्नेह प्रालि, होटल स्टारलाइट नीलदेवी र कल्पतरु होटल एन्ड कौशिकी बैङ्क्वेटमा मिनी क्यासिनो चलाउन विभागले अनुमति दिएको छ।

भैरहवामा होटल नान्स, नेपालगन्जको होटल सिटी प्यालेस र पर्साको हिमाल वाटर पार्क एन्ड भिलेजमा समेत मिनी क्यासिनोका लागि विभागले अनुमति दिइसकेको छ। अनुमति पाएका नयाँ गरेर क्यासिनोको सङ्ख्या २३ वटा पुगेको छ। यसमा १० वटा ठुला र अन्य सानो क्यासिनो हुन्।

असार २८, २०७९ मंगलबार १७:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।