बाबुरामले अघि बढ्ने पार्टीको मोडालिटीको जिम्मा केन्द्रीय समितिलाई दिए

काठमाडौँ : जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले वैकल्पिक शक्तिका रूपमा अघि बढ्ने वा विचार मिल्नेसँग पार्टी एकता गर्ने दुई विकल्प आफूहरूसँग रहेको बताएका छन्। मंगलबारदेखि काठमाडौँको जडीबुटीमा सुरु आफूपक्षीय केन्द्रीय समितिको विस्तारित बैठकमा उनले बहुमत रहे वा नरहे पनि पार्टी पुनर्गठन गर्नुपर्ने औँल्याएका हुन्।
‘हाम्रासामु दुई विकल्प हुन सक्दछन्। एक नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने, दुई– विचार, नीति, कार्यक्रम मिल्ने निकटतम शक्तिहरूसँग सहकार्य, ध्रुवीकरण, एकीकरण गर्दै जाने,’ उनले आफ्नो राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन्। उनले त्यसको मोडालिटीको जिम्मा बैठकलाई नै दिएका छन्।
‘हामीसँग जसपाको वैधानिक बहुमत रहे वा नरहेको दुवै अवस्थामा पार्टीको पुनर्गठन एक अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बन्न पुगेको छ। पार्टी पुनर्गठन के कसरी गर्ने, यसबारे कुनै ठोस र मूर्त निर्णय गर्ने अधिकार यसै विस्तारित बैठकको हो। तसर्थ, यो विषयमाथि गम्भीर, सघन र विहङगम विचारविमर्श गर्ने र कुनै निर्णयमा पुग्ने कार्यभार यही बैठकसामु छोड्न चाहन्छु,’ उनले प्रतिवेदनमा लेखेका छन्।
असार २८, २०७९ मंगलबार १४:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।