सुधारियो सरकारी कार्यालय: सिन्धुली जिल्ला प्रशासन बिहान ७ देखि साँझ ७ बजेसम्मै खुल्ने

काठमाडौंः जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दैनिक तीन सिफ्टमा सेवा दिने भएको छ। कार्यालयमा सेवाग्राहीको चाप बढेपछि कार्यालयले बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा दिन थालेको हो।
कार्यालयमा सेवा लिन आउने, राहदानी र राष्ट्रिय परिचयपत्रका सेवाग्राहीको चाप अत्यधिक वृद्धि भएपछि प्रशासनले दैनिक १२ घण्टा सेवा दिन सुरु गरेको हो। यही असार २७ गते बिहान ७ बजेबाट कार्यालयको सेवा प्रवाह समय दैनिक तीन सिफ्टमा विस्तार गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए।
प्रशासनले कर्मचारी अभावमा राहदानीको सेवालाई व्यवस्थित गर्न नसकेको गुनासो आएपछि यही गुनासो व्यवस्थापन गर्न प्रशासनले आफ्नो सेवा समय बढाएको हो।
कार्यालयले विगतमा एक हप्तामा ८० जनाको राहदानी फारम लिने गरिकोमा अब दैनिक ४० जनाको दरले हप्ताको २४० जनाको फारम लिने छ। १२ घण्टा दैनिक सेवा विस्तार सुरु भएकाले सेवाग्राहीको गुनासो सम्बोधन भएको जनाउँदै अब सेवाग्राहीले तत्कालै सेवा पाउने प्रजिअ न्यौपानेले बताए।
कार्यालयले राजस्व जम्मा गर्ने बैंक काउन्टर, राहदानीको ‘इन्रोल्मेन्ट’, राष्ट्रिय परिचयपत्रको सहायता कक्ष साथै सुरक्षित वैदेशिक रोजगार परामर्श केन्द्र बिहान ७ देखि साँझ ७ बजेसम्म सञ्चालनमा रहेको जनाएको छ।
बिहान ७–१० बजेसम्म, बिहान १० देखि दिउँसो १ बजेसम्म र दिउँसो १ देखि साँझ ७ बजेसम्म कर्मचारी व्यवस्थापन प्रशासनले गरेको छ। प्रशासनको सेवा प्रवाहमा आवश्यक कर्मचारीका लागि कमलामाई नगरपालिकाले सहजीकरण गरिदिएको थियो।
असार २८, २०७९ मंगलबार ०८:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।