अन्तरीक्ष विज्ञानमा नयाँ फड्को: ब्रह्माण्डको सबैभन्दा विस्तृत तस्बिर सार्वजनिक, अरबौं वर्ष लगाएर आए प्रकाश

एजेन्सीः जेम्स वेब स्पेस टेलिस्कोपबाट खिचिएको ब्रह्माण्डको पहिलो पूर्ण रङ्गिन तस्बिर सार्वजनिक भएको छ। यो तस्बिर ब्रह्माण्डको हालसम्मकै धेरै गहिरो र विस्तृत इन्फ्रारेड दृश्य भएको भएको बताइएको छ।
यसमा देखिएका प्रकाश विभिन्न आकाशगंगाहरूबाट अरबौं वर्ष लगाएर आएका छन्।
तस्बिर अमेरिकी राष्ट्रपति जो बाइडेनलाई देखाइएको थियो। अरू तस्बिरहरू भने मङ्गलबार नासाले ग्लोबल प्रेजेन्टेसनमार्फत सार्वजनिक गर्नेछ।
बाइडेनले तस्बिर हेरेपछि भने, 'यी तस्बिरले संसारलाई याद दिलाउने छ कि अमेरिका ठूला ठूला काम गर्न सक्छ र अमेरिकी जनता र विशेषतः हाम्रा बालबालिकाहरूलाई याद दिलाउने छ कि कुनै पनि कुरा हाम्रो क्षमताभन्दा पर छैन।'
१० बिलियन डलरको जेम्स वेब स्पेस टेलिस्कोप गत वर्ष २५ डिसेम्बरमा प्रक्षेपण गरिएको थियो। यसले आकाशको सबै प्रकारको अवलोकन गर्नेछ भने दुई वटा खास लक्ष्य रहेका छन्।
पहिलो- १३.५ अर्ब वर्षअघि ब्रहमाण्डमा चम्किएको पहिलो ताराहरूको तस्बिर लिनु। दोस्रो- बस्न मिल्छ कि मिल्दैन भनेर पर-परका ग्रहहरूको जाँच गर्नु।
हालसम्मको अध्ययनले ब्रहमाण्ड १३.८ अर्ब वर्ष पुरानो रहेको बताइन्छ। यसको अर्थ यो टेलिस्कोपले सृष्टिको सुरुआतमा लैजानेछ।
असार २८, २०७९ मंगलबार ०८:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।