विदेशी मुद्रा सञ्चिति १५.९ प्रतिशतले घट्यो

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्यांकअनुसार देशको विदेशी मुद्रा सञ्चिति १५.९ प्रतिशतले घटेको छ। सोमबार सार्वजनिक तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको ११ महिनासम्ममा विदेशी मुद्रा सञ्चिति २ खर्ब २२ अर्ब १९ करोड रुपैयाँले घटेको हो।
गत वर्षको यही अवधिमा विदेशी मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ थियो। २०७९ जेठ मसान्तसम्म ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ रहेको राष्ट्र बैङ्कले उल्लेख गरेको छ। अघिल्लो वर्षभन्दा यो वर्ष २ खर्ब २२ अर्ब विदेशी मुद्रा सञ्चिती घटेको उसको तथ्याङ्कमा देखिन्छ।
जेठमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत पुगेको छ। खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४३ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत रहेको छ।
२०७९ जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औसत मुद्रास्फीति ६.०९ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा कुल वस्तु निर्यात ५३.३ प्रतिशतले वृद्धि भएर १ सय ८५ अर्ब ८४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३७.८ प्रतिशतले वृद्धि भएको थियो।
आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा कुल वस्तु आयात २७.५ प्रतिशतले वृद्धि भई १७६३ अर्ब २२ करोड पुगेको छ।
असार २७, २०७९ सोमबार २०:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।