नागरिकता विधेयकबारे गृहमन्त्री खाँण र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल

काठमाडौंः संसद्मा पेश भएको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाँण र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच छलफल भएको छ। आज बिहान भएको छलफल सकारात्मक रूपमा टुङ्गिएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ।
यसअघि सरकारले 'नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक' २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता गरेको थियो।
राज्य व्यवस्था समितिले २०७७ असार ९ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेश गरेकोमा सरकारले उक्त विधेयक असार २४ गते फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद् सचिवालयमा पेश गरेको छ।
पेश भएको विधेयकमा सहमति जुटाउन गृहमन्त्री खाँणले सरकारका तर्फबाट विभिन्न राजनीतिक दलका नेतासँग भेटघाट गरिरहेका छन्।
आइतबार साँझ मात्रै गृहमन्त्री खाँणले प्रमुख प्रतिपक्षी दल एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भेटवार्ता गरेका थिए।
असार २७, २०७९ सोमबार १२:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।