कांग्रेसको दलित सङ्घद्वारा एक महिनाभित्र महाधिवेशन गराउन नेतृत्त्वसँग माग

कांग्रेसको दलित सङ्घद्वारा एक महिनाभित्र महाधिवेशन गराउन नेतृत्त्वसँग माग

काठमाडौंः नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित सङ्घले एक महिनाभित्र आफ्नो केन्द्रीय महाधिवेशन गराउन पार्टी नेतृत्वसँग माग गरेको छ। सङ्घले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर एक महिनाभित्रै महाधिवेशन सम्पन्न गर्ने वातावरण निर्माण गर्न माग गरेको हो।

दलित सङ्घको महाधिवेशन १० वर्षसम्म पनि हुन नसकेको भन्दै सङ्घका नेता शिव सुनार, प्रेम विश्वकर्मा, मुक्त महतोलगायतले ध्यानाकर्षण गराएका हुन्। दलित सङ्घको चौथो महाधिवेशन विसं २०६९ सालमा सम्पन्न भएयता अर्को महाधिवेशन भएको छैन।

यस्तै, सङ्घका नेताले जातीय विवेदका घटनामा पीडित पक्षलाई न्याय दिलाउन र दोषीलाई कारबाही गर्न कांग्रेस केन्द्रीय कार्यालय र ७७ वटै जिल्लामा दलित सेल स्थापना गर्न आग्रह गरेका छन्। उनीहरूले पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्था र पार्टीले गठन गर्ने विभागमा दलित समुदायको सम्मानजनक सहभागिता प्रतिनिधित्व गराउन पनि माग गरे।

यसैगरी, आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा दलित समुदायबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्यबाहेक प्रत्यक्षतर्फको निर्वाचनमा कम्तीमा जनसङ्ख्याको आधारमा उम्मेदवार बनाउने व्यवस्था गर्न समेत माग गरे।

असार २७, २०७९ सोमबार ०८:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।