कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै, भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेश हुने

काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजेबाट पार्टी कार्यालय सानेपामा बस्नेछ।
आजको बैठकमा थप गरिएका भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेश हुनेछ। आइतबार बसेको कांग्रेसको पदाधिकारी बैठकले दुई भ्रातृ र नौ वटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव गरेको थियो।
नेपाल थारु संघ र नेपाल आदिवासी जनजाति महासंघले भ्रातृ संस्थाका रूपमा मान्यता पाउने गरी प्रस्ताव पेश हुने भएको हो।
यस्तै शुभेच्छुक संस्थाका रूपमा नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नेपाल लोकतान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघ, नेपाल लोकतान्त्रिक उद्योग व्यापार व्यवसायी संघ, नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ, नेपाल लोकतान्त्रिक आयुर्वेद तथा प्राकृतिक चिकित्सक संघ, नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ र नेपाल लोकतान्त्रिक भाषा साहित्य लेखक संघले मान्यता पाउने गरी प्रस्ताव पेश हुनेछ।
आजको बैठकमा यी संस्थाहरूको विधान स्वीकृत गरी पार्टीको भ्रातृ तथा शुभेच्छुक संस्थाको रूपमा रहन अनुमति प्रदान गरिनेछ।
योसहित कांग्रेसको भ्रातृ संस्थाको संख्या १५ पुग्नेछ भने शुभेच्छुक संस्थाको संख्या २७ पुग्नेछ।
यस्तै बैठकमा स्थानीय निर्वाचनको समीक्षा पनि गरिनेछ। आउँदो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारीको सन्दर्भमा पनि छलफल हुनेछ।
पार्टीको आन्तरिक विषयमा पनि छलफल हुने बताइएको छ।
असार २७, २०७९ सोमबार ०७:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।