फुटको औपचारिकता कुरेको जसपाको दुवै पक्षले बोलायो केन्द्रीय समिति बैठक 

फुटको औपचारिकता कुरेको जसपाको दुवै पक्षले बोलायो केन्द्रीय समिति बैठक 

काठमाडौँ : विभाजनको औपचारिकता पर्खिरहेको जसपामा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन्। केही दिन अघि भट्टराई र यादवबीच सहमतिमा भ्रद तरिकाले छुट्टिने सहमति भएको थियो। 

बाबुराम पक्षले असार २८ र २९ मा काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाउदा उपेन्द्र पक्षले असार २९ र ३० मा वीरगञ्जमा केन्द्रीय समिति बैठक बोलाएका छन्। 

बाबुरामनिकट नेता फणिन्द्र देवकोटाका अनुसार असार २८ र २९ मा बस्ने केन्द्रीय समिति बैठकमा आन्तरिक विषय, स्थानीय चुनाव समीक्षा, संगठनबारे छलफल र आगामी कार्ययोजनाबारे छलफल हुनेछ। अहिले सो समूहको बैठक बसिरहेको छ। बैठक कुन स्थानमा बसिरहेको भन्नेबारे देवकोटाले जानकारी दिएनन्। केन्द्रीय समिति बैठकमा बाबुरामले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन पनि पेश गर्ने तयारी छ। 

यस्तै उपेन्द्र पक्षले काठमाडौको बैठक अराजक एवम गैर जिम्मेवार व्यक्तिहरुले अनाधिकृत रुपमा राखेको भन्दै विज्ञप्ति निकालेको छ। उपेन्द्र पक्षको बैठक २९ र ३० गते वीरगंजमा बस्दैछ। 

केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले ‘काठमाडौंमा सोही दिन पार्टीको यसप्रकारको कुनै पनि आधिकारिक बैठक नरहेको’ भन्दै उनले विज्ञप्ति जारी गरेका छन्। जसपाले हालै तीन मन्त्री फिर्ता गरी नयाँ मन्त्री पठाउँदा पनि भट्टराई पक्षसँग परामर्श गरेका छैनन्। उनले यसअघि पनि एकलौटी रुपमा पार्टी चलाउँदै आएको आरोप  भट्टराई पक्षले लगाउँदै आएको थियो।


 

असार २६, २०७९ आइतबार १५:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।