तालिमको क्रममा लड्दा प्रहरी जवानको मृत्यु

डोटीः सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा लामो दौडका क्रममा लडेर बेहोस भएका अछामको मेल्लेख गाउँपालिका–६ झाडीगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको मृत्यु भएको छ। तालिम केन्द्रका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार उनी यही असार २२ गते १० किलोमिटर लामो दौडका क्रममा लडेर बेहोस भएका थिए।
लामो समयसम्म होस नआएपछि घाइते बोहरालाई हेलिकोप्टरमार्फत उपचारका लागि कोहलपुर सिफारिस गरिएको थियो। तर कोहलपुरस्थित शिक्षण असपतालमा उपचारको क्रममा उनको मृत्यु भएको सूचना अधिकारी बोहराले बताए।
मृत्युको अन्य कारण नखुलेको र शव परीक्षणपछि थाहा हुने सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले जनाएको छ।
असार २६, २०७९ आइतबार १०:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।