अनौठो अपराध: ट्वाइलेट सफा गर्ने बहानामा खसी-बाख्रा चोरी, गिरोह नै पक्राउ

बुटवलः गत असार ५ मा रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका वडा नं १ मा रहेको पवन परियारको बाख्राको खोरमा चोरी भयो। ८ देखि १२ केजीका तीन वटा बाख्रा चोरी भएपछि परियारले त्यही दिन ईलाका प्रहरी कार्यालय सालझण्डीमा बाख्राचोरी भएको भन्दै निवेदन दिए।
परियारको निवेदन देखेर प्रहरीको टोली एकछिन त छक्कै परे। सामान्यतया अरू वस्तु चोरी भएमा उजुरी गर्ने भनेको बिलको आधारमा हो। तर परियारसँग बिल थिएन। यद्यपि, बाख्रा चोरीको घटना दर्ता भयो। प्रहरी बाख्राको खोजीमा लाग्यो।
प्रहरीको अनुसन्धानबाट चोरीमा चार जना संलग्न भएको पत्ता लाग्यो। दुई वटा मोटरसाइकल प्रयोग गरेको पनि पत्ता लाग्यो।
प्रहरीले तीन चारै जनालाई मोटरसाइकलसहित पक्रन पनि सफल भयो। प्रहरीले लु१७प ३७१७ नं. को पल्सर मोटरसाइकल र लु३५प २४४१ नं. को एनएस मोटरसाइकलसहित कञ्चन गाउँपालिका- १ का ३५ वर्षीय ओम थापा, २१ वर्षीय सागर विक, २० वर्षीय रवि सुनार र १८ वर्षीय विएस (नाम परिवर्तन) लाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गर्दा उनीहरूले श्रृङ्खलाबद्धरूपमा चोरी गर्ने गरेको भेटियो। ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगनान्थ मरासनीका अनुसार उनीहरूले ०७८ सालदेखि नै बाख्रा चोरी गर्ने गरेका थिए। उनीहरूले आफूलाई बाख्रा व्यापारी भएको बताउँदै सस्तोमा जिउँदो खसी-बाख्रा बेच्ने गरेको मरासनीले बताए।
उनीहरूले ०७८ माघ १२ गते सैनामैना नगरपालिका- ६ पटनास्थित पदमप्रसाद अर्यालको घरबाट २२ केजी बोका चोरेको स्वीकार गरेका छन्। त्यस्तै ०७८ माघ १५ गते सैनामैना नगरपालिका- ६ भड्छास्थित सरस्वती ढकालको घरबाट ४८ केजीको खसी पनि चोरेको स्वीकार गरेका छन्।
०७९ असार १६ गते सैनामैना- ११ चौधरी घालाबाट दुई वटा खसी, १७ गते सैनामैना- ९ ज्योतिस्थित बुद्धिसागर ढकालको घरबाट १५ केजीको बोका, १८ गते सैनामैना- ९ स्थित भीमबहादुर सुनारको ११ केजीको बोका उनीहरूले चोरी गरेको भेटिएको छ।
पक्राउ परेकामध्ये ओम थापाले दिउँसो ट्वाइलेट सफा गर्ने काम गर्ने र आफूले काम गर्ने घर वरिपरि के-कति खसी-बाख्रा छन् भनि बुझ्ने र काम सकिएपछि साथीहरू बोलाएर राति चोरी गर्ने गरेको प्रहरी निरिक्षक मरासनीले बताए।
उनीहरूले राति खोरबाट चोरेको खसी-बाख्रा घाँस खुवाउँदै डोहोर्याएर केही टाढा लगेर मोटरसाइकलमा हाली विभिन्न स्थानमा बिक्री गर्ने गरेका थिए। कतिपय अवस्थामा मासु काटेर बिक्री गर्ने गरेको पनि मरासनीले बताए।
पक्राउ परेका चारै जनालाई चोरी सम्बन्धी कसूरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
असार २६, २०७९ आइतबार १०:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।