बुद्धभूमि नेपाललाई युद्धबाट अक्षुण्ण राख्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बुद्धभूमि नेपाललाई युद्धबाट अक्षुण्ण राख्नुपर्ने बताएका छन्। विश्वमा युद्धको कालो बादल मडारिएको जनाउँदै उनले एसियामा पनि त्यसको लक्षण देखापरेकाले सचेत रहनुपर्ने बताए। 'बुद्धको शान्ति भूमिलाई द्वन्द्वबाट टाढा राख्नुपर्छ', समाजवादी प्रेस सङ्गठन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, 'राष्ट्रिय हितका विषयमा हामी एकताबद्ध हुनुपर्छ।'
राष्ट्रिय हित र सुरक्षालाई केन्द्रविन्दुमा राखेर छिमेकी र अन्य मुलुकसँगको सम्बध विस्तार गर्दै जानुपर्ने उनले बताए। नेपाल असंलग्न परराष्ट्र नीतिको पक्षमा रहेकाले यसैमा अडिग रहेर अन्तर्राष्ट्रिय सन्धि–सम्झौता गर्नुपर्ने उनको भनाइ छ। अध्यक्ष नेपालले पाँचदलीय गठबन्धन पनि यही नीतिका पक्षमा रहेर अस्थिरताबाट देशलाई जोगाउने काम गरेको बताए।
पाँचदलीय गठबन्धनबाट सरकारका विभिन्न पदमा रहेका मन्त्रीतर्फ इङ्गित गर्दै उनले देश र जनताप्रति सेवाभाव र समर्पणभाव राख्नुपर्ने बताए। 'देखाउने दाँत एउटा र खाने अर्को नहोस्। भित्र बाहिर एउटै होस्। जनताले खोजेको त्यही हो', अध्यक्ष नेपालले भने।
सङ्घ र प्रदेशको निर्वाचनमा पनि पाँचदलीय गठबन्धनबीच सहकार्य रहने बताउँदै उनले अहिलेको अवस्थामा यो आवश्यक रहेको उल्लेख गरे। आगामी निर्वाचनको मिति घोषणा भएलगत्तै सही नीति र दृष्टिकोण बोकेर पार्टी जनतामा जाने तयारी गरेको उनले बताए।
पत्रकार सम्मेलनमा पत्रकारले राखेको जिज्ञासाको जवाफ दिँदै उनले आगामी निर्वाचनमा एमालेसँगको सहकार्य सम्भव नभएको प्रष्ट पारे। 'एमालेसँग गठबन्धन गर्नका लागि ढोका बन्द छ, ढोका बन्द भएपछि कुनै सम्भावना रहने कुरा भएन। हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ। गलत प्रवृत्तिले गर्दा हानी–नोक्सानी के–के भयो सबैले मनन गरौँ', उनले भने।
अध्यक्ष नेपालले गत स्थानीय तहको निर्वाचनमा मतपत्रको व्यवस्था, मतदाता शिक्षा, घरदैलो र सबै स्थानीय तहमा उम्मेदवारी दिन नसक्दा नौ लाख २७ हजार मतमात्रै प्राप्त गरेको जनाउँदै उहाँले अब सङ्घीय निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको बताए।
कांग्रेसमा भएको चरम गुटबन्दीले स्थानीय तह निर्वाचनमा उम्मेदवारको टुङ्गो लगाउन समस्या भए पनि समाजवादीमा सहज तरिकाले दुईतिहाइ स्थानमा एक्लै उम्मेदवारी दिँदा पनि सानदार जित हासिल गरेको बताए।
असार २५, २०७९ शनिबार १८:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।