पत्रकारलाई लागु औषधमा फसाउने शाह एसएसपी बढुवा सिफारिस, सुचीमा राअबीका हाबी

पत्रकारलाई लागु औषधमा फसाउने शाह एसएसपी बढुवा सिफारिस, सुचीमा राअबीका हाबी

काठमाडौँ : प्रहरीको बढुवा सिफारिस समितिले रिक्त रहेको ३२ एसएसपी पदमा बढुवाका लागि ३२ एसपीको नाम सिफारिस सूची सार्वजनिक गरेको छ।

सिफारिस सूचीको पहिलो नम्बरमा गणेश चन्द छन्। दोस्रोमा सिद्धिविक्रम शाह, तेस्रोमा सुशील सिंह राठौर, चौथोमा उमाप्रसाद चतुर्वेदी, पाँचौँ नम्बरमा दानबहादुर कार्की, छैठौमा डा मनोजकुमार केसी रहेका छन्।

यसै गरी राजन अधिकारी, जीवनकुमार श्रेष्ठ, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर बिक,ओमबहादुर राना, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल, गोविन्द थपलिया, माधवप्रसाद श्रेष्ठ र दिल्लीराज विष्ट लगायतका ३२ एसपीको नाम एसएसपीमा बढुवाका लागि सिफारिस भएको हो।

रौतहटमा पत्रकारलाई लागु औषध राख्न लगाएर पक्राउ गरेको घटनामा मुछिएका सिद्धिविक्रम पनि एसएसपीमा बढुवाको सिफारिसमा परेका छन्। उनी आइजिपी धिरज प्रताप सिंहका आफन्त समेत हुन्।

गणेश चन्द सबैभन्दा सिनियर हुन्। उनका ब्याचका डिआइजी भइसकेका छन्। उनकी श्रीमती दुर्गा सिंह हालैको बढुवामा डिआइजीमा बढुवा भइसकेकी छिन्। निर्मलाको बलात्कार र हत्या केसमा निलम्बनमा परेर बढुवामा पछिपरेका दिल्ली बिष्ट यो पाली बढुवा सिफारिसमा अटाएका छन।

बढुवा सिफारिसमा राअबीका हाबी

एसएसपी बढुवा सूचीमा राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएकाहरू हाबी देखिएका छन्। खुमबहादुर खड्का गृहमन्त्री हुँदा राजनीतिक रूपमा विभागमा भर्ती पाएकाहरूलाई पछि विवादित रूपमा नेपाल प्रहरीमा ल्याइएको थियो।

बढुवा सिफारिसमा परेकामध्ये २ नम्बरका शाह, तीन नम्बरका राठौर, ४ नम्बरका चतुर्वेदी, ९ नम्बरका जीवनकुमार श्रेष्ठ, ११ का ओमबहादुर राना, १९ नम्बरका मनोजकुमार यादव, २१ नम्बरका दीपेन्द्र घर्ती क्षेत्री, २३ नम्बरका दिलीपसिंह देउवा, २९ नम्बरका सुरेन्द्रबहादुर गुरुङ अनि ३२ नम्बरमा बढुवाको सिफारिसमा परेका शारदा प्रसाद चौधरी राअबिबाट नेपाल प्रहरीमा ल्याइएकाहरू हुन्।

असार २५, २०७९ शनिबार १२:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।