पहिरोले पृथ्वी राजमार्गको जामुने-खैरेनी सडक र कालीगण्डकी करिडोर अवरुद्ध

पहिरोले पृथ्वी राजमार्गको जामुने-खैरेनी सडक र कालीगण्डकी करिडोर अवरुद्ध

काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित तुरतुरेमा आज बिहान पहिरो खस्दा जामुने-खैरेनी सडक अवरुद्ध भएको छ। 

शुक्रबार रातिदेखि परेको वर्षाले पहिरो खसेपछि पृथ्वी राजमार्गको उक्त खण्ड अवरुद्ध भएको हो। सडकभन्दा माथिबाट पहिरो खसेपछि उक्त खण्ड दुईतर्फी रुपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

मालढुंगा-बेनी सडक अवरुद्ध
कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा-बेनी सडक गए रातिदेखि अवरुद्ध बनेको छ। 

शुक्रबार साँझदेखि निरन्तर परिरहेको वर्षाका कारण सडक माथिको भिरबाट पहिरो खस्दा यातायात सेवा अवरुद्ध बनेको हो।

पर्वतको कुश्मा नगरपालिका–१ स्थित मालढुङ्गा नजिकै ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ।

अवरुद्ध सडक खुलाउन डोजर र ट्रिपर तयारी अवस्थामा राखे पनि वर्षा नरोकिएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङबाट छुटेका सवारी साधन खनियाघाटमा अलपत्र परेका छन् भने अन्यत्रबाट ती जिल्लाका लागि आएका सवारी साधन मालढुङ्गामा रोकिएका छन्।

असार २५, २०७९ शनिबार ०८:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।