सरकार नागरिकता विधेयक आजै फिर्ता लिने तयारीमा

काठमाडौं : सरकारले संसद्बाट आजै नागरिकता विधेयक फिर्ता लिने तयारी गरेको छ। आज बस्ने प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ताको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो। उक्त विधेयक २०७५ साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको थियो।
यो विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा छलफलपछि २०७७ असार ९ गते प्रतिनिधि सभामा समितिको प्रतिवेदन पेस भएको थियो।
संसद्मा पेस भइसकेपछि मन्त्रिपरिषद्ले निर्णय गरेर मात्रै विधेयक फिर्ता लिन सक्ने व्यवस्था रहेको छ।
प्रतिनिधि सभा आज दिउँसो २ बजेका लागि बोलाइएको छ।
असार २४, २०७९ शुक्रबार ०८:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।