अर्थमन्त्री शर्माले गरे राजीनामा दिने घोषणा

काठमाडौँ : शृङ्खलाबद्ध रूपमा विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माका गतिविधिबारे छानबिन गर्न संसदीय समिति गठन भएपछि अर्थमन्त्री शर्माले राजीनामा दिने घोषणा गरेका छन्।
बजेट निर्माणकोक्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करका दररेट हेरफेर गराएको विवादमा परेका उनको राजीनामाको माग बढे पनि उनी राजीनामा नदिने भन्दै बसेका थिए। मन्त्रालयको क्लोज सर्किट टेलिभिजनको फुटेज माग्दा मन्त्रालयले डिलेट भएको पत्र दिएको सार्वजनिक भएपछि उनीमाथि राजीनामाको दबाब बढेको थियो।
बुधबार बसेको संसदीय बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले शर्मामाथि लागेको आरोपबारे छलफल गर्न संसदीय विशेष समिति गठन गरेका थिए। उनले सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेको समिति गठन गरेपछि उनले संसदमा सम्बोधन गर्दै राजिनामा दिने घोषणा गरेका थिए।
असार २२, २०७९ बुधबार १६:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।