हत्या र बलात्कारका फरार २ जना दोषी पक्राउ
काठमाडौँ : हत्या र बलात्कार घटनामा दोषी ठहर भई फरार रहेका २ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान विभागले दाइजोको विवादमा श्रीमतीको हत्या गरेर फरार रहेका अच्छन अलि अन्सारी र एक महिलाको बलात्कार घटनामा दोषी ठहर भएका जोहरु भाटलाई पक्राउ गरेको हो।
अन्सारीले २०७५ असार ३१ गते दाइजो कम ल्याएको कुरामा निहुँ खोजी विवाद गरी शारीरिक र मानसिक यातना दिने क्रममा आफ्नै पत्नी रुवी अन्सारीलाई कुटपिट गरी टाउकोमा लाठी र भाला प्रहार गर्दा घाइते बनाएका थिए। उनको उपचारको क्रममा साउन २१ मा गते भारतको लखनउमा मृत्यु भएको थियो।
अदालतले अन्सारीलाई हत्यामा २० वर्ष कैद सजाय सुनाए पनि उनी फरार थिए। २०७७ चैत ९ मा फैसला भए पनि उनी लुकेर बसेको सूचनाको आधारमा ब्युरोको अदालतको फैसला कार्यान्वयन गराउने टोलीले पक्राउ गरेर अदालतमा बुझाएको छ।
२०७० भदौ ७ गते बाँके सोनपुर गाविस वडा नं. २ मा रहेको गिजरा सामुदायिक वनमा दाउरा खोज्न गएकी महिलालाई एक्लै फेला पारी सामूहिक बलात्कार गरेको आरोपमा बाँके जिल्ला अदालतले भाटलाई दोषी ठहर गरेको थियो। उनलाई सात वर्ष कैद सजाय भएको थियो।
असार २२, २०७९ बुधबार १६:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।