अर्थमन्त्री प्रकरणले स्थगित भयो आजको माओवादी केन्द्रीय कमिटी बैठक

अर्थमन्त्री प्रकरणले स्थगित भयो आजको माओवादी केन्द्रीय कमिटी बैठक

काठमाडौंः माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठक आज पनि स्थगित भएको छ। यसअघि हिजो सम्पन्न हुने भनिएको बैठक आवश्यक गृहकार्य नपुगेको भन्दै आज बस्नेगरी बोलाइएको थियो।

यता अर्थमन्त्री जनार्दन शर्मामाथि अनधिकृत व्यक्तिमार्फत बजेटको कर हेरफेर गराएको आरोप लागेर संसदीय छानबिन समिति बनाएर छानबिन गर्ने तयारी भइरहेको छ। केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय छानबिन समितिको माग गरेका थिए भने माओवादी पनि छानबिन समिति बनाउन राजी भइसकेको छ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का स्वकीय सचिव रमेश मल्लले संसद् बैठकमा नेताहरू सहभागी हुनुपर्ने भएकाले बैठक भोलिका लागि सारिएको बताए।

आज अर्थमन्त्री शर्माले संसद्मा आफूमाथिको आरोपबारे स्पष्टिकरण दिने बताइरहेका छन्। यता एमालेले भने संसद् बैठक अवरुद्ध गर्ने भनेपछि सभामुख अग्निप्रसाद सापकोटा माओवादीसहित विभिन्न दलका नेताहरूसँग छलफलमा छन्। यसैकारण माओवादी बैठक स्थगित भएको हो।

अब बैठक भोलि बिहान ११ बजे बस्ने भएको छ। आइतबारदेखि सुरु भएको बैठकमा आज प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिने तालिका थियो।

असार २२, २०७९ बुधबार १४:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।