अर्थमन्त्रीको ‘अपराध’मा मौन अर्थ समिति

काठमाडौंः अर्थमन्त्री जनार्दन शर्मा एकपछि अर्काे विवादमा मुछिइरहँदा निगरानी गर्नुपर्ने निकाय संसद्को अर्थ समिति मौन छ। विवाद भएपछि छानबिन गर्नुपर्ने र मन्त्रीलाई बोलाएर स्पष्टिकरण सोध्नुपर्ने अर्थ समितिले तत्काल बैठक राख्ने कुनै योजना समेत बनाएको छैन।
बजेट भाषणको अघिल्लो दिन अनधिकृत व्यक्तिलाई मन्त्रालय छिराएर करको दर हेरफेर गरेको आरोप लागेका अर्थमन्त्रीले जेठ १४ गतेकोे सीसीटीभी फुटेज डिलिट भएको समेत जवाफ फर्काएपछि यसले कानूनको ठाडो उल्लङ्घन भएको छ। कानूनतः तीन महिनासम्मको सीसीटीभी फुटेज सुरक्षित राख्नुपर्ने प्रावधान छ।
अर्थ समितिको कार्यक्षेत्र अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, लगानी वोर्ड र राष्ट्रिय योजना आयोग हो। समितिको कर्तव्यमा उल्लेख छ:
सभाद्वारा प्रत्यायोजित अधिकारअन्तर्गत बनाइएको नियम संविधान, सम्बन्धित ऐन, प्रचलित कानून बमोजिम बनेको छ वा छैन र सरकारद्वारा प्रचलित ऐन, नियमअनुरूप काम भए गरेको छ वा छैन भन्ने विषयमा मुल्याङ्कन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने।
सरकारद्वारा समय–समयमा गठन हुने छानबिन आयोग/समिति र जाँचबुझ आयोग/समितिद्वारा प्रस्तुत प्रतिवेदन कार्यान्वयनको अनुगमन गरी सम्बन्धित निकायलाई आवश्यक राय, सल्लाह र निर्देशन दिने।
मन्त्रालय, विभाग र अन्य निकायबाट सम्पादन भएका कामको अनुगमन तथा मूल्याङ्कन गरी सो सम्बन्धमा आवश्यक निर्देशन दिने।
यसरी प्रष्टसँग उल्लेख हुँदा पनि समिति भने अर्थमन्त्रीमाथि लागेको आरोपलाई नदेखेझैँ गरिरहेको छ।
समितिका सभापति कृष्णप्रसाद दाहाल अर्थ समितिका सदस्य सांसदहरू बेलायत भ्रमणमा गएर हिजो मात्रै फर्किएकाले बैठक बस्न नसकेको बताउँछन्। ‘अर्थ समितिको बैठक आइतबारदेखि बस्छ। अर्थमन्त्रीमाथि जुन आरोप लागेको छ यदि त्यो सत्य हो भने गम्भीर अपराध हो हामीले सरकारलाई आवश्यक निर्देशन दिन्छौँ’, उनले भने, ‘छानबिन समिति गठन गर्नुपर्छ यस्तो केसमा।’
पूर्व अर्थसचिव विमल कोइरालाले अर्थमन्त्रीमाथि गम्भीर आरोप लागेपछि प्रधानमन्त्रीले बर्खास्त गरेर छानबिन समिति गठन गर्नुपर्ने बताउँछन्। ‘संसदीय समितिहरूले पनि यसमा छानबिन गर्न सरकारलाई निर्देशन दिनुपर्छ। यत्रो गम्भीर आरोप लाग्दा नैतिकताको आधारमा अर्थमन्त्री आफैँले राजीनामा दिनुपर्नेमा दिनुभएको छैन’, उनले भने, ‘नत्र प्रधानमन्त्रीले बर्खास्त गरेर छानबिन समिति गठन गर्नुपर्छ।’
असार २२, २०७९ बुधबार १३:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।