अर्थमन्त्री प्रकरण: सभामुख छलफलमा लागेपछि संसद् बैठक २ बजेसम्म स्थगित

अर्थमन्त्री प्रकरण: सभामुख छलफलमा लागेपछि संसद् बैठक २ बजेसम्म स्थगित

काठमाडौंः आज बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेपछि बस्नेगरी स्थगित गरिएको छ। प्रमुख प्रतिपक्षी एमालेले आजको संसद् बैठक अवरुद्ध पार्ने भनेसँगै सभामुख अग्निप्रसाद सापकोटा बैठक सुचारु गराउन छलफलमा लागेकाले बैठक स्थगित भएको हो।

आज संसद्मा अर्थमन्त्री जनार्दन शर्माले आफूविरुद्ध लागेको आरोपमा स्पष्टिकरण दिने बताइरहँदा एमालेले उनको सम्बोधन बहिष्कार गर्ने भएको थियो। यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीविरुद्ध संसदीय छानबिन समिति बनाउनुपर्ने धारणा अघि सारेका थिए।

हाल माओवादी केन्द्र छानबिन समिति बनाउन तयार भएको छ। यद्यपि अर्थमन्त्री शर्माले संसद्मा स्पष्टिकरण दिन चाहेका छन्।

संसद्मा बजेट पेश गर्ने अघिल्लो दिन अनधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराइ करको दर हेरफेर गराएको आरोप अर्थमन्त्री जनार्दन शर्मालाई लागेपछि हाल चौतर्फी रूपमा विरोध गर्दै उनको राजीनामा मागिएको छ।

हाल संसद् बैठक सुचारु गर्न सरकारका मन्त्रीहरू र एमालेका प्रमुख सचेतक विशाल भट्टराईसँग छलफलमा छन्। यस्तै सभामुख अग्निप्रसाद सापकोटा पनि दलका सचेतकहरूसँग छलफलमा छन्।

असार २२, २०७९ बुधबार १३:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।