संसद्मा अर्थमन्त्री शर्माले आफूमाथिको आरोपबारे स्पष्टिकरण दिने, एमालेले बैठक बहिष्कार गर्ने

काठमाडौंः अर्थमन्त्री जनार्दन शर्माले आजको संसद् बैठकमा आफूमाथि लागेको आरोपबारे स्पष्टिकरण दिने भएका छन्। संसद्मा बजेट पेश गर्नु अघिल्लो दिन मध्यराति अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराइ करका दर हेरफेर गर्न लगाएको भन्ने खबर सार्वजनिक भएपछि हाल उनको राजीनामा माग गरिएको छ।
अर्थमन्त्री शर्माले भने यस आरोपमा सत्यता नभएको भन्दै पन्छिरहेका छन्। यसैबीच एक संस्थाले मन्त्रालयको सीसीटीभी फुटेज हेर्न माग गर्दै दिएको निवेदनमा मन्त्रालयले सीसीटीभी फुटेज डिलिट भइसकेको जवाफ फर्काएको थियो। १३ दिनभन्दा धेरै स्टोरेज क्षमता नभएको कारण फुटेज उपलब्ध हुन नसक्ने जवाफ फर्काएको थियो। जबकी कानूनतः सीसीटीभी फुटेज तीन महिनासम्म सुरक्षित राख्नुपर्ने प्रावधान छ।
यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री शर्माले संसद्मा बोल्ने नैतिक आधार गुमाएको भन्दै उनको सम्बोधन बहिष्कार गर्ने भएको छ। एमालेकै अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि संसद् बैठकमा बोल्दै अर्थमन्त्रीमाथि संसदीय छानबिन गरिनुपर्ने माग गरेका थिए।
आज मात्रै माओवादी केन्द्रले संसद् बैठकमा अर्थमन्त्री शर्माले बोलेपछि छानबिन समिति गठन गर्ने तयारी गरेको छ।
असार २२, २०७९ बुधबार १२:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।