चट्याङले विद्युत् गृहमा क्षति हुँदा ३७६ घरधुरी अन्धकारमा

म्याग्दीः पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटस्थित ३० किलोवाट क्षमताको विद्युत् गृहमा चट्याङले ठूलो क्षति पुर्याएको छ। सोमबार राति परेको चट्याङले च्युरीबोटस्थित दाजुङखोला लघु जलविद्युत् गृहमा क्षति पुर्याएको लघु जलविद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्दबहादुर घर्तीमगरले जानकारी दिए।
चट्याङले रु चार लाख ५५ हजार बराबरको क्षति भएको छ। जेनेरेटरमा क्षति भएपछि विद्युत् सेवा अवरुद्ध भएको छ। तीस किलोवाट क्षमताको सो लघु जलविद्युत् परियोजना बन्द हुँदा च्युरीबोट, ओखरबोट, महभिर छाप, खतेनलगायत गाउँका ३७६ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन्।
यता म्याग्दीकै बेनी नगरपालिका–२ बगरफाँट गाउँ बाढी र पहिरोको उच्च जोखिममा परेको छ। माथिबाट पहिरो खस्ने र नदीले तीव्र कटान गर्न थालेपछि गाउँ नै जोखिममा परेको हो।
विसं २०५७ देखि म्याग्दी नदीले बगरफाँटमा कटान गर्दै आएको छ। बगरफाँटमा २१४ परिवारको बसोबास छ।
म्याग्दी नदीको कटान नियन्त्रणका लागि बर्सेनि नदी किनारमा ग्याबियन जाली भर्ने गरिए पनि दीगो हुनसकेको छैन। बगरफाँटको १५० रोपनीभन्दा बढी खेतीयोग्य जमीन बाढीले बगाएको छ।
असार २२, २०७९ बुधबार ११:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।