आजको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा के-के छन् ?

आजको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा के-के छन् ?

काठमाडौंः प्रतिनिधि सभाको ११औं अधिवेशनको ३४औं बैठक आज बस्दैछ। बैठक आज बिहान ११ बजे बस्ने संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन्।

आजको बैठकको कार्यसूचीमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने उल्लेख छ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले “राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग तेस्रो वार्षिक प्रतिवेदन, २०७८” पेश गर्ने बताइएको छ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले “रेल्वे विधेयक, २०७९ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ्गले “औषधी (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। उनले “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्” भनी अर्को प्रस्ताव पनि प्रस्तुत गर्नेछन्।

यता गृहमन्त्री बालकृष्ण खाँणले “कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै “फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

“राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवदेनसहितको सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् भने “सामाजिक सुरक्षा (पहिलोसंशोधन) विधेयक, २०७९ लाई पारित गरियोस्” भनी अर्को प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसैगरी कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले “कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै “तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई पारित गरियोस्” भनी अर्को प्रस्ताव प्रस्तुत गर्नेछन्।

असार २२, २०७९ बुधबार १०:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।