कोटेश्वरदेखि कलङ्कीसम्म ग्रिन बेल्ट निर्माण, २ वर्षसम्म एनसेलले संरक्षण गर्ने

कोटेश्वरदेखि कलङ्कीसम्म ग्रिन बेल्ट निर्माण, २ वर्षसम्म एनसेलले संरक्षण गर्ने

काठमाडौँ : कोटेश्वर देखि कलंकी सडक खण्डको ग्रिन बेल्ट निर्माणको काम सकिएको छ। चीन सरकारको सहयोगमा बनेको रिङरोडको खण्डमा एनसेल आजियाटा लिमिटेडले ग्रिनबेल्ट बनाएको हो।

एनसेलले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा रिङरोडको कोटेश्वर देखि कलंकी सडक खण्डमा हरियाली विकास, निमार्ण गरेको हो। उसले सन् २०२४ सम्म सो क्षेत्रको संरक्षण समेत गर्नेछ।

ग्रिनबेल्टको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले संयुक्त उद्घाटन गरेका थिए।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले दिगो विकास लक्ष्यसँग जोडिएको सरकारको वातावरण सम्बन्धी लक्ष्य र हाम्रो आजियाटा समूहको नेट जिरो कार्बनको आकाङ्क्षा अनुरूप समुदाय र जनमानसका लागि स्वस्थ वातावरण निर्माणमा योगदान गर्न पाउँदा खुसी लागेको बताए।

'यो परियोजना सार्वजनिक—निजी साझेदारीको उत्कृष्ट उदाहरण हो र यसले हामी कसरी यस्ता परियोजनाहरू सामूहिक रूपमा साकार पार्न सक्छौँ भनी प्रस्टाएको छ' उनले भने।

वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केसीले यस क्षेत्रका ९० प्रतिशत बोटबिरुवालाई जीवितै राख्ने प्रतिबद्धता रहेको बताए। केही प्रतिस्थापन गरेर शत प्रतिशत बोटबिरुवा जीवित राख्न सक्नु ठुलो उपलब्धि रहेको भन्दै उनले रिङरोडको ग्रीनबेल्ट क्षेत्रमा ल्यान्डस्केपिङ, हरियाली प्रवर्द्धन र सौन्दर्यीकरणमा निजी र सार्वजनिक सहकार्यको उत्तम उदाहरण प्रस्तुत गरेको भन्दै एनसेललाई धन्यवाद दिएका थिए।

ललितपुर महानगरपालिकाका मेयर महर्जनले  ललितपुरमा सम्पन्न भएका सुन्दर परियोजनामध्ये सो परियोजना समेत रहेको बताए। उनले ललितपुरलाई स्मार्ट सिटीमा परिणत गर्ने  भिजन अन्तर्गत चार वटा रुटमा स्मार्ट स्ट्रिट लाइट जडान गर्ने कार्य सम्पन्न गरी सहरमा १ हजार ४ सय वटा बत्ती जडान गर्ने काम भइरहेको जानकारी दिई।

'अर्को चरण भनेको ललितपुरभित्र पर्ने रिङरोडको ७.९ किलोमिटर क्षेत्रमा स्मार्ट बत्ती जडान गर्ने हो' उनले भने।

असार २२, २०७९ बुधबार १०:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।