ढलान गर्न बेंसीशहर–चामे सडक एक साता बन्द हुने

काठमाडौंः बेंसीशहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ। मर्स्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान गर्न आज बिहान ८ बजेदेखि एक हप्ता सडक बन्द हुने भएको हो।
पूर्णरूपमा एक हप्तासम्म सवारीसाधन आवागमन रोकेर काम अघि बढ्ने डुम्रे–बेंसीशहर–चामे सडक योजना कार्यालयका प्रमुख अच्युतविलास पन्तले जानकारी दिए। सङ्घीय सरकारको रु ६० लाख लागतमा श्रीकृष्ण निर्माण सेवाले उक्त कार्य गर्ने जिम्मा पाएको छ।
विसं २०५१ देखि सडक डिभिजन कार्यालय दमौलीले सो सडक निर्माण सुरु गरेको हो। नेपाली सेनाले उक्त सडक २०५७ देखि बनाउने जिम्मा पाएको थियो। सेनाको कार्यगणले २०६९ मा सडक निमार्ण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो।
६५ किलोमिटर दूरीको बेंसीशहर–चामे सडक लमजुङतर्फ ३५ किलोमिटर पर्दछ। बर्खायाममा उक्त सडकखण्ड अवरुद्ध हुने गरेको छ। गत वर्ष बाढीपहिराले एक महिनासम्म सडक अवरुद्ध भएको थियो।
मनाङबासी हेलिकोप्टरको सहारामा बेंसीशहर हुँदै आफ्नो गन्तव्यमा जाने गरेका थिए।
असार २२, २०७९ बुधबार १०:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।