यी हुन् रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेहरू

यी हुन् रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेहरू

काठमाडौंः मङ्गलबार बिहान रामेछापको सुनापति गाउँपालिका- २ हिलेदेवीबाट काठमाडौंतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गयो। जसमध्ये नौ जनाको घटनास्थलमा र चार जनाको उपचारको क्रममा मृत्यु भएको हो।

रामेछापको लुभुघाटमा बा३ख ८३९६ को बस दुर्घटना हुँदा ब्रेक फेल हुनुलाई प्रारम्भिक कारण मानियो। कच्ची सडकको ठूलो घुम्तीबाट बस मोडिन नपाई एक्कासि भीरमा खसेर बजारिएको थियो।

जिल्ला प्रशासन कार्यालय रामेछापका अनुसार गाडीमा चालक तथा सहचालकसहित ३५ जना रहेका थिए। उनीहरूमध्ये चालक भने गाडी घुम्तीबाट खस्नै लाग्दा फाल हानेका कारण जोगिए। उनी आफैँ रामेछाप प्रहरीमा सम्पर्कमा पुगेको जनाइएको छ। उनलाई त्यसपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।

घटनास्थलमै मृत्यु भएका नौ जनाको हिजै साँझसम्म सनाखत भएको थियो। अरू चार जनाको भने उपचारको क्रममा मृत्यु भएकाले आज मात्र सनाखत भएको हो।

जसमध्ये घटनास्थलमा मृत्यु हुनेमा रामेछापको सुनापति गाउँपालिका–५ का ६० वर्षीय ठूला तामाङ, सोही ठाउँका ३६ वर्षीया सञ्जु आले, ३६ वर्षका खडकबहादुर विक, २६ वर्षका समरिता तामाङ र २२ वर्षीया विपना तामाङ छन्। यस्तै काभ्रेकी ६० वर्षीया शुभलक्ष्मी मानन्धर, सोही जिल्लाका २७ वर्षीय कमल तामाङ, काभ्रे पाँचखालका ४० वर्षीय कुलबहादुर विक र सोही ठाउँका १८ वर्षीय सुदीप गजमेरको घटनास्थलमै मृत्यु भएको हो।

यस्तै उपचारको क्रममा सुनापति गाउँपालिका- ५ का ४५ वर्षीय रामबहादुर श्रेष्ठ, २४ वर्षीय बुद्ध तामाङ र ६० वर्षीया नेमा तामाङ र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका- ९ कि ३५ वर्षीया धनमाया तामाङको मृत्यु भएको हो।

अन्य घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

असार २२, २०७९ बुधबार ०९:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।