राजश्व छली गर्ने मुख्य गिरोहमाथि निगरानी हुँदैछ: राजश्व अनुसन्धानका महानिर्देशक अधिकारी

राजश्व छली गर्ने मुख्य गिरोहमाथि निगरानी हुँदैछ: राजश्व अनुसन्धानका महानिर्देशक अधिकारी

पोखराः राजश्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले राजश्व छलीको मुख्य गिरोहमाथि निगरानी बढाइएको बताएका छन्। मङ्गलबार पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रलाई सम्बोधन गर्दै अधिकारीले जनस्तरबाट ठूला कर छलीको घटनामा राजश्व अनुसन्धानले आँखा चिम्लेको भन्ने आरोपबाट मुक्त गराउन चाहेको बताए।

उनले भने, ‘म अब ग्राभिटीमा प्रहार गर्न चाहन्छु। बरू २ महिना ढिला होस्। राजश्व चुहावट हुने क्षेत्र पहिचान गरेर विभाग कडाइका साथ अगाडि बढ्छ। हाम्रो दृष्टिमा ठूला भन्ने कोही छैनन्।’

उनले राजश्व चुहावटको सबैभन्दा बढी जोखिम भन्सार क्षेत्र, ट्रेडिङ व्यवसाय, निर्माण तथा सेवा क्षेत्रमा रहेको पनि बताए। उद्योगको हकमा राजश्व चुहावट कम रहेकाले उत्पादकत्व वृद्धिमा सघाएको उनको भनाइ थियो।

महानिर्देशक अधिकारीले राजश्व चुहावटमा नेपालको एउटा निश्चित वर्गले चलखेल गर्ने गरेको पनि सङ्केत गरे। उनले भने, ‘बजार एउटा समूहको अवैधानिक कब्जामा अगाडि बढेको छ। यसलाई रोक्न सकिएन भने हिजो बाबु-बाजेको पालादेखि व्यवसाय गर्दै आएकाहरू पलायन हुने खतरा बढेको छ।’

यस्तै उनले राजश्व चुहावटसँगै अनौपचारिक अर्थतन्त्र नियन्त्रणमा विशेष ध्यान दिएको बताउँदै विप्रेषण पनि अवैध क्षेत्रमा परिचालित भएको जिकिर गरे।

अधिकारीले नेपालमा ठूला व्यवसाय गर्ने ४ वटा फर्महरूमाथि विभागले अनुसन्धान थालेको बताउँदै पोखरा क्षेत्रमा पनि २/४ दिनमै विभागले  देखिनेगरी काम गर्ने उल्लेख गरे।

उनले भने, ‘बजारमा सामान पनि बेच्ने र भ्याट बिल पनि बेच्ने धन्दा चलाउनेहरू छन्। भन्सार छलेर सामान ल्याउने उत्तिकै छन्। यहाँ रसुवाबाट हाइड्रो भनेर सामान भित्रन्छ अनि त्यसमा एक करोड ६३ लाखको महँगा कपडा हुन्छन्। भन्सार तिरेर आएको त्यस्तै कपडा व्यवसायी कसरी टिक्छन्।’

उनले सही तरिकाले व्यवसाय गर्नेहरूको संरक्षण गर्ने बताउँदै अवैध रूपले हुने राजश्व चुहावट रोक्ने अभियान सोचेजस्तो सजिलो समेत नभएको उल्लेख गरे। उनले भने, ‘भन्सारमा दुई वटा ट्रक समात्यो भने एक हप्तासम्म ट्रक बुझ्दैनन्। खुला सिमानाको नजिक गोदाम राख्ने अनि रातमा सामान भित्र्याएर पोकामा पठाउने गिरोह पनि उस्तै सक्रिय छन्।’

यस्तै गम्भीर प्रकृतिको अपराध नगरेसम्म कसैको गोदाम सिल नगरिने पनि उनले उल्लेख गरे।

पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष पवनकुमार प्रजापतिले उजुरी र छड्के जाँचको नाममा व्यवसायीहरूको मान मर्दन नगर्न आग्रह गरे। विभागको सुराकी गर्नेलाई प्रोत्साहित गर्ने नीति गलत भएको उनले बताए।

पोखरा उद्योग वाणिज्य संघ अवैध व्यवसायको पक्षमा नभएको प्रष्ट पार्दै व्यवसायीमाथि आरोप लागाउँदैमा ऊ अपराधी नहुने बताए। उनले भने, 'अभियोग लगाउँदैमा कोही दोषी हुँदैन। उसले सफाइको मौका पाउँछ। अनुसन्धानको नाममा व्यवसायी पक्राउ गर्दा अपराधीको रूपमा प्रचार गरिन्छ। यस्तो कार्यलाई तत्कालै रोकियोस।’

यस्तै अन्यायपूर्ण तरिकाले गरिएका कर निर्धारणको पुनरावलोकन पनि सहज नभएको जिकिर गर्दै उनले न्यून विजीकरणको समस्याले पोखरालगायत गण्डकीका व्यवसायी पीडित भएको गुनासो गरे।

भन्सारपछि पनि छड्केको नाममा विभिन्न ठाउँमा लोड गरिएको सामान खोतल्ने र रोक्ने प्रवृत्तिमा विभागले सुधार गर्नुपर्ने उनले बताए।

पोखराका सेवा क्षेत्रमाथि कर प्रशासनले धरपकड गर्ने गरेको उनले आरोप लगाए। उनले भने, ‘घुम्न आएर होटलमा बसेका कर्मचारीले अनौपचारिक कुराकानीमा व्यवसायीको मानमर्दन गरिदिन्छन्। यो राम्रो कुरा होइन।’

उनले ठूलालाई सक्दिनँ, सानालाई छाड्दिनँ भन्ने उखानविपरीत जान पनि महानिर्देशकलाई सुझाव दिए।

असार २२, २०७९ बुधबार ०८:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।