रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, घाइतेलाई धुलिखेल ल्याइँदै

काठमाडौंः रामेछापको सुनापति गाउँपालिका- २ हिलेदेवीबाट काठमाडौंतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङका अनुसार दुर्घटनामा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ।
बा३ख ८३९६ नम्बरको बस लुभुघाटमा दुर्घटनामा परेको हो। चार महिला र पाँच पुरुषको मृत्यु भए पनि हालसम्म मृतकहरूको पहिचान खुलेको छैन।
बसमा करिब ३० यात्रु सवार रहेको बताइएको छ। अन्य २३ यात्रु घाइते भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए।
आज बिहान १०ः३० बजे बस सडकबाट ३०-३५ मिटर तल खसेर दुर्घटना भएको हो। गम्भीर घाइते भएका तीन जनालाई हेलिकप्टरबाट काठमाडौं र अन्य घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रजिअ पहाडीले बताए।*
*अपडेट गरिएको
असार २१, २०७९ मंगलबार १२:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।