अब चितवनमै ट्रायल परीक्षा दिएर लाइसेन्स लिन पाइने

अब चितवनमै ट्रायल परीक्षा दिएर लाइसेन्स लिन पाइने

चितवनः सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल) अब चितवनमै हुने भएको छ। साउन दोस्रो साताबाट परीक्षा लिने गरी यातायात व्यवस्था कार्यालय चितवनले तयारी थालेको छ।

कार्यालय चितवनका प्रमुख विनोद पौडेलका अनुसार लाइसेन्स अब भरतपुरबाटै लिन सकिने छ।

प्रयोगात्मक परीक्षाका लागि निजी क्षेत्रबाट ‘ट्रायल सेन्टर’ लिन लागिएको छ। त्यसका लागि प्राविधिक प्रस्तावको मूल्याङ्कनमा महालक्ष्मी ट्रायल सेन्टर र सदगुरू ड्राइभिङ छनोटमा परेका छन्।

असार २३ गते ती कम्पनीको आर्थिक प्रस्ताव जिल्ला प्रशासन कार्यालयमा खोलिँदै छ। त्यसपछि सात दिनको आसय र १५ दिनका सम्झौताका लागि सूचना जारी गर्नुपर्ने हुन्छ। उनले भने, “यो प्रक्रिया अघि बढ्दै गर्दा हामी अनलाइनमा फाराम खोल्नेछौँ।”

चितवनबाट सुरुमा ‘क’, ‘ख’ र ‘ग’ वर्गको सवारीसाधनको ट्रायल लिइने उनले जानकारी दिए। ‘क’ वर्गमा मोटरसाइकल, स्कुटर, मोपेड, ‘ख’ वर्गमा चार र तीनपाङ्ग्रे साना सवारीसाधन र ‘ग’ वर्गमा हेभी र मझौला आकारका सवारीसाधन पर्छन्।

चितवनका बासिन्दा लाइसेन्सका लागि हेटौंडा, वीरगन्ज, कावासोती, काठमाडौं लगायतका ठाउँमा जानुपर्ने बाध्यता छ। पौडेलका अनुसार हेटौंडा जाने ७० प्रतिशत चितवनका हुन्। कावासोती जानेमा पनि आधा यही जिल्लाका छन्।

असार २१, २०७९ मंगलबार ११:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।