नेपहपको श्रीपेच काण्डले विवादमा बालेन, मेयर भएर संस्कृतिको अवमूल्यन गरेको बज्राचार्य समुदायको आरोप

काठमाडौँ : नेपालको पहिलो हिपहप रियालिटी शो भएको दाबी गरिएको नेपहपको श्रीपेचका आयोजकहरूले विजेतालाई श्रीपेच भन्दै धार्मिक महत्वको मुकुट लगाइदिएपछि विरोध सुरु भएको छ।
कार्यक्रमको तस्बिर सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा व्यक्तिगत रूपमा आयोजकको मूर्खता भन्दै विरोध भएको थियो। अब बौद्ध धर्मसँग जोडिएका संस्थाहरूले औपचारिक रूपमै विरोध सुरु गरेका हुन्।
सो धार्मिक मुकुट दीक्षित बज्रयानका बज्राचार्य गुरुजुहरुले मात्र लगाउने पवित्र पञ्च बुद्ध मुख: भएको उल्लेख गर्दै बज्राचार्य समन्वय परिषद्ले साङ्गीतिक कार्यक्रमको विजेतालाई श्रीपेचको रूपमा प्रयोग गरिएको भन्दै आपत्ति जनाइएको छ।
स्थानीय तहको निर्वाचनमा नेवार सभ्यताको संरक्षण गर्ने वाचा गरेर मेयर पदमा जितेका बालेन शाह समेत निर्णायक रहेको कार्यक्रममा आफैँले नेवार सभ्यताको आस्थामाथि खेलबाड गरेको भन्दै परिषद्का अध्यक्ष अनार रत्न बज्राचार्यले विज्ञप्तिमार्फत दुख व्यक्त गरेका छन्।
सो घटनाले बज्राचार्य समुदायसँगै सबै नेवार समुदायको संस्कृतिको अपहेलन गरेको भन्दै विज्ञप्तिमा भर्त्सना गरिएको छ। एक कार्यक्रमको विजेतालाई पवित्र मुख: लगाउनु भनेको समस्त बज्रयानी बौद्धहरूको अवमूल्यन भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा यस्तो कार्यविरुद्ध सबै बौद्धमार्गीहरु विरोधमा उत्रिनुपर्ने भन्दै तत्काल सो निर्णय सच्याउन समेत माग गरिएको छ। रियालिटी शो नेपहपको श्रीपेचको आयोजकले विजेतालाई श्रीपेच भन्दै पञ्च तथागत मुकुट लगाइदिएका थिए।
असार २०, २०७९ सोमबार २०:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।