भुसाल मोटर्सलाई तेस्रो पटक सार्क कन्ट्री डिलर अवार्ड

बुटवल : रुपन्देहीको भुसाल मोटर्स प्रालिले तेस्रो पटक अन्तर्राष्ट्रिय अवार्ड पाएको छ। प्रालिले सार्क राष्ट्रमै ट्याक्टर लगायतका मेशीनरी उपकरण सर्वाधिक बिक्री गर्न सफल भएको भन्दै ‘सार्क कन्ट्री नम्बर १ डिलर–२०२१’ अवार्ड प्राप्त गरेको हो।
भुसाल मोटर्स प्रालि सिएनएच इण्डष्ट्रियल ग्रुपद्वारा उत्पादित न्यु हल्याण्ड ट्याक्टर, भ्याकु लोडर र केज ब्रान्डका ट्याक्टरहरूको नेपालका लागि एक मात्र आधिकारिक विक्रेता हो।
न्यु हल्याण्ड ब्रान्डका ट्याक्टर तथा भ्याकु लोडर र केज ब्रान्डका ट्याक्टरहरूको भारतमा पलाण्ट राखेर सन् १९९५ बाट उत्पादन गर्दै आएको इटालीको सिएनएच इण्डष्ट्रियल ग्रुपले उक्त अवार्ड प्रदान गरेको हो।
कम्पनीले आइतबार टर्कीको इस्तानबुलमा आयोजित सार्क राष्ट्रस्तरीय विक्रेता भेटघाट कार्यक्रममा उक्त अवार्ड दिएको हो।
अवार्ड कम्पनीका एसिया प्यासिफिक क्षेत्रका प्रबन्ध निर्देशक रौनक बर्माले भुसाल मोटर्स प्रालिका कार्यकारी निर्देशक अङ्कित भुसाललाई प्रदान गरेका हुन्। यस अगाडि पनि भुसाल मोटर्सले सन् २०१९ र २०२०मा उक्त अवार्ड प्राप्त गरेको थियो।
भुसाल मोटर्सले सन् २०२१ मा सार्क राष्ट्रका नेपालसहित भारत, बङ्गलादेश, भुटान मध्येमा सर्वाधिक, १२ सय ७१ वटा ट्याक्टर,२ सय वटा भ्याकु लोडर तथा १५ पिस चेन एक्स्काभेटर बिक्री गर्न सफल भएको भुसाल मोटर्स प्रालिका व्यवस्थापक तिलक सुवेदीले बताए।
असार २०, २०७९ सोमबार २०:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।