इन्धन अभाव बढ्ने सङ्केत, कोटा तोक्न आयल निगमको सुझाव

काठमाडौँ : पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै नेपाल आयल निगमले सरकारलाई दुई पाङ्ग्रे र साना सवारीसाधनलाई पेट्रोल कम दिन सरकारलाई प्रस्ताव गरेको छ।
मूल्यवृद्धिका कारण वित्तीय स्थिति नाजुक भएको भन्दै उसले सरकारलाई पत्र पठाएर मोटरसाइकल-स्कुटर, कार र जिपलाई कोटा तोक्न सुझाव दिएको हो। सुझावमा बाइक र स्कुटरलाई एक पटकमा पाँच लिटर कार र जिप लगायतका साना सवारीलाई एक पटकमा २० लिटर दिन सुझाव दिइएको छ।
निगमले पठाएको सुझावमा सरकारी र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने, आइतबार सार्वजनिक बिदाको निर्णय पुनः लागू गर्नुपर्ने, छोटो दूरीमा सवारी साधनको प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्ने, देशका प्रमुख सहरहरूमा प्रत्येक शनिवार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्ने लगायतका सुझाव छन्।
यसै गरी विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि गर्न प्रमुख सहर र राष्ट्रिय राजमार्गहरूमा नि:शुल्क चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने, सार्वजनिक निजी पार्किङ स्थानमा विद्युतीय सवारी साधनका लागि नि:शुल्क पार्किङ स्थल तोक्नु पर्ने, पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन र अन्य उपकरण आयातमा प्रतिबन्ध लगाउनु पर्ने, एलपीजी ग्यासको खपत कम गर्न विद्युतीय चुल्हो सहुलियत दरमा बिक्री गर्न र घरायसी प्रयोजनको बिजुलीको शुल्क कम गर्नुपर्ने सुझाव समेत दिएको छ।
उसले ठुला उद्योग, परियोजना, होटेल लगायतले डिजल र एलपीजी ग्यासको खपत नगरी बिजुलीको खपत गर्ने नियम बनाउनु पर्ने सरकारलाई सुझाव दिएको छ।
असार २०, २०७९ सोमबार २०:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।