सुन तस्करको चतुराइले हैरान भन्सार कर्मचारी, कहिले टाँकमा, कहिले ब्रिफकेसको ह्यान्डलमा

काठमाडौँ : तीन दिन अगाडि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयका कर्मचारीले सुटकेसको ह्यान्डलमा राखेर तस्करीको प्रयास भएको सुन सहित तस्करीमा संलग्नलाई नियन्त्रणमा लिएको थियो। त्यसको पाँचै दिनमा फेरि अर्को नयाँ शैली अपनाएर सुन तस्करीको प्रयास भइरहेको खुल्यो।
सोमबार भन्सारका कर्मचारीले पत्ता लगाएको तस्करीको नयाँ शैली हो बच्चाको कपडाको टाँक। दुबईबाट काठमाडौँ आएका एक यात्रुले ल्याएको बच्चाहरूले लगाउने पोसाकको टाँकभित्र सुन फेला परेको हो।
सोमबार बिहान ११ बजेतिर दुबईबाट काठमाडौँ आएका सुमन दमाईको लगेजमा धेरै बच्चाहरूको कपडा फेला परेपछि शङ्का लागेर जाँच गर्दा तस्करीको नयाँ शैली फेला परेको हो।
उनले ल्याएको सबै कपडाको टाँकमा सुन लुकाएका थिएनन्। नाबालकले लगाउने सिङ्गल पिस पाँच वटा पोसाकको टाँकभित्र सुन फेला परेको हो। पोसाकमा स्टिलको टाँक रहेको देखेपछि परीक्षण गरिएको थियो। शङ्का लागेर टाँकभित्र हेर्दा सुनका ६० वटा रिङ् फेला पर्यो। सुनको तौल १ सय २५ ग्राम छ।
भिजिट भिसामा दुबई गएका उनी काम नपाएपछि नेपाल फर्किएका थिए। उनले नेपाल फर्कनेक्रममा विमानस्थलमा भेटिएका एक जनाले बच्चाहरूलाई कपडा लगिदिन आग्रह गरेपछि ती कपडा बोकेको दाबी गरेका छन्।
गत शुक्रवार बैंककबाट नेपाल एयरलाइन्सको उडानबाट नेपाल आएका राकेश तुलाधरले बोकेको सुटकेसको ह्यान्डलभित्र २६७.४ ग्रामको सुनको पाता फेला परेको थियो।
यस अगाडि पनि कहिले मोबाइलभित्र त कहिले झोल बनाएर सुन तस्करीको प्रयास हुने गरेका थिए। पछिल्लो समय भन्सारमा कडाइ गरिएसँगै तस्करीमा संलग्नहरूले नयाँ-नयाँ शैली अपनाउन थालेको देखिन्छ।
असार २०, २०७९ सोमबार १९:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।