बाबुरामलाई पेल्न यादवलाई प्रधानमन्त्रीको साथ, तीन मन्त्री बदलिए

बाबुरामलाई पेल्न यादवलाई प्रधानमन्त्रीको साथ, तीन मन्त्री बदलिए

काठमाडौँ : जनता समाजवादी पार्टीभित्र पार्टी अध्यक्ष उपेन्द्र यादवले बाबुरामलाई कमजोर बनाउन साथ दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद्का सदस्य हेरफेर गरेका छन्।

पार्टीमा बढेको विवादमा यादवले पार्टीकोतर्फबाट सरकारमा गएका तीन मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेका थिए। सङ्घीय परिषद्का प्रमुख डा बाबुराम भट्टराईले प्रधानमन्त्री देउवालाई भेटेर यादवको सिफारिस कार्यान्वयन नगर्न आग्रह गरे पनि देउवाले टेरेनन्।

उनले ३ मन्त्रीलाई नियुक्त गर्ने निर्णय गर्दै पद तथा गोपनीयताको शपथ समेत गराएका छन्।

महिन्द्र राय यादव, रेणुकुमारी यादव र रामसहाय प्रसाद यादवलाई फिर्ता बोलाएर सोमबार राष्ट्रपति कार्यालय सिंहदरबारमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री मोहम्मद इस्तियाक राई, मृगेन्द्रकुमार सिंह र प्रदीप यादवलाई शपथ गराइन्।

पुरानो मन्त्रीमध्ये सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ मात्रै जोगिए। राईले भौतिक पूर्वाधार, सिंहले कृषि तथा पशुपक्षी र यादवले वन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

केही दिन अगाडि एकीकृत समाजवादीले पार्टीको तर्फबाट सरकारमा सहभागी चार मन्त्री बदलेको थियो। 

असार २०, २०७९ सोमबार १९:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।