सेयर बजारमा ९९ दिन यताकै उच्च कारोबार

सेयर बजारमा ९९ दिन यताकै उच्च कारोबार

काठमाडौँ : साताको दोस्रो दिनको सेयर बजारको कारोबारमा आइतबारको जस्तो उत्साह देखिएन। आइतबारको कारोबारले सेयर बजार करेक्सन लाइनमा जाने सङ्केत देखाएको थियो। तर सोमबार त्यसले निरन्तरता पाउन सकेन। तर कारोबार रकम भने बढेको छ।

सोमबार ४ अर्बभन्दा बढीको सेयर कारोबार भयो। २ सय ३४ स्टकको ७५ हजार ७ सय ९० पटकको कारोबारमा ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार रुपैयाँ बराबरको १ करोड ९ लाख ८१ हजार कित्ता शेयर खरिदबिक्री भयो र यो ९९ दिन यताकै उच्च कारोबार रकम हो।

गत चैत १३ गते आइतबार नेप्सेमा ४ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। त्यसपछि ओरालो लागेको कारोबार रकम उकालो लाग्न सकेन।

सोमबार नेप्से परिसूचक ९.७५ अङ्क घटेर २०७६.६७ विन्दुमा झर्यो। सेन्सेटिभ इन्डेक्स २.६८ अङ्क, फ्लोट इन्डेक्स ०.४७ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६८ अङ्क घटेको छ।

सोमबार १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढ्यो। ९ उपसमूहको परिसूचक घट्यो। व्यापार उपसमूहको परिसूचक सर्वाधिक ५.१० प्रतिशत बढेको छ। अन्य उपसमूहको परिसूचकको वृद्धिदर भने १ प्रतिशतभन्दा कम छ। कारोबारमा आएको विकास बैङ्क, होटेल तथा पर्यटन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

सोमबार सिवाईसी लघुवित्त वित्तीय संस्था र ङादी ग्रुपको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सामलिङ्ग पावर कम्पनीको शेयर मूल्य करिब ८ प्रतिशत बढ्यो भने साल्ट ट्रेडिङ्ग कर्पोरेसन र विशाल बजार कम्पनीको शेयर मूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। युनियन हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको शेयर मूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

असार २०, २०७९ सोमबार १६:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।