२० जनाको क्षमता भएको कारागारमा ५४ कैदीबन्दी, सुत्न पनि पालो कुर्नुपर्छ

जाजरकोटः २० जनाको क्षमता भएको जाजरकोट कारागारमा ५४ कैदीबन्दी राख्दा समस्या भएको छ। हाल कैदीबन्दीहरू सुत्न पनि आलोपालो गर्नुपर्ने अवस्था रहेको छ।
कारागारको क्षमता १५ पुरुष र पाँच महिलाको हो।
कारागारका नाइके कुशबहादुर महताराका अनुसार क्षमताभन्दा बढी कैदीबन्दी भएपछि विद्युत्, खानेपानी, शय्या र स्वास्थ्य उपचारमा समस्या उत्पन्न भएको छ। सङ्ख्या बढी हुँदा सुत्नका लागि समस्या हुँदै आएको छ।
कारागार प्रमुख चन्द्रबहादुर गिरीले जिल्ला कारगारमा अहिले ३५ कैदी र १९ थुनुवा गरी जम्मा ५४ कैदीबन्दी रहेको बताए। पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न कारागार प्रशासनलाई समस्या भइरहेको उनको भनाइ छ।
कारागार जीर्ण पनि छ। वर्षाको समयमा सुत्ने पालो पाएका कैदीबन्दीले राम्ररी सुत्न समेत नपाउने कैदी दीर्घबहादुर नेपालीले बताए। साथीहरू मिलेर आलोपाले गरी सुत्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही कारागारमा देखिएका समस्या समाधानका लागि पहल गरिने बताउँछन्। तर लामो समयदेखि यो समस्याको सम्बोधन नभएको कैदीबन्दीको गुनासो छ।
असार २०, २०७९ सोमबार १२:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।