हाम्रो नेपालमा: बजेट सक्न हात्तीलाई वनभोज, विरोध भएपछि रकम भुक्तानी नगर्न मन्त्रीको निर्देशन

हाम्रो नेपालमा: बजेट सक्न हात्तीलाई वनभोज, विरोध भएपछि रकम भुक्तानी नगर्न मन्त्रीको निर्देशन

काठमाडौंः चितवनको सौराहामा गत बिहीबार हात्तीलाई वनभोज खुवाइएपछि निजी क्षेत्रका पर्यटन व्यवसायीले विरोध जनाएका छन्। विरोधपछि बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले हात्ती वनभोजका लागि एक रुपैयाँ पनि भुक्तानी नगर्न निर्देशन दिएका छन्।

पर्यटन प्रवर्द्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समिति सौराहाले सरकारी हात्तीसार र निजी व्यवसायीले पालेका करिब ७० हात्तीलाई वनभोजका खुवाएको थियो। केरा, चना, भुइँकटर, स्याउ, उखु, सखर, खर्बुजा र खिर खुवाएर वनभोज मनाइएको थियो।

प्रदेश सरकारको आर्थिक सहयोग तथा चितवन निकुञ्जको सहकार्यमा हात्ती वनभोज कार्यक्रम गरिएको हो। चितवनको सौराहास्थित प्रदेश पर्यटन कार्यालय अवलोकन गर्न पुगेका पर्यटनमन्त्री श्रेष्ठले हात्ती वनभोज कार्यक्रमको शुभारम्भ गरेका थिए।

मन्त्री श्रेष्ठले सफारी पर्यटनको विकासमा प्रदेश सरकारले उपस्थिति जनाउने भनेको उक्त कार्यक्रममा केही विरोधी समूहले नकारात्मक हल्ला फैलाएकाले हाललाई उक्त शीर्षकमा बजेट नदिन मन्त्रालयलाई निर्देशन दिएको बताए। सौरहाको पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि हात्ती वनभोज कार्यक्रम मन्त्री श्रेष्ठ प्रदेशको उपस्थिति देखाउने तयारीमा थिए। कार्यक्रममा प्रदेश सरकारले पनि वार्षिक सहयोग गर्नुपर्ने पक्षमा रहेका मन्त्री श्रेष्ठ प्रतिबद्धतामै राजनीति हुन थालेपछि पछि हटेको बताइएको छ।

चितवनको पर्यटन प्रवर्द्धनका लागि हात्तीलाई खाना खुवाउन प्रदेश सरकारले पनि रु पाँच लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। पर्यटन सचिव मदन कोइरालाले हात्ती वनभोजमा मन्त्रालयले भुक्तानी नदिने स्पष्ट पारेका छन्।

क्षेत्रीय होटल सङ्घ चितवन, रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) सौराहा, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, नेचर गाइड एशोसिएशन र साना पर्यटन व्यवसायी समूहले हात्ती वनभोजको विरोध गरेका थिए। उनीहरूले पर्यटन प्रवर्द्धनका लागि विनियोजन गरिएको बजेट दुरुपयोग गर्ने नियतले सङ्घसंस्थासँग सहकार्य नगरी हात्ती वनभोज कार्यक्रमको आयोजना गरिएको आरोप लगाएका छन्।

यही असार १६ गते ‘पर्यटन प्रवर्द्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समिति’ नामक संस्थाले सौराहामा हात्ती वनभोज कार्यक्रम आयोजना गरेको थियो। हाल विवाद बढेपछि वनभोजको आयोजक संस्थाले पत्रकार सम्मेलन गरी बजेट फ्रिज हुन लागेपछि मन्त्रालयकै आग्रहमा वनभोज कार्यक्रम गरिएको बताएको छ।

समितिका अनुसार वनभोज कार्यक्रममा हात्तीलाई खुवाउन रु एक लाख ६३ हजार ३००, अतिथि सत्कारमा ४३ हजार ९१४, प्रचारमा पाँच हजार र हात्तीसारेलाई कुची बनाएबापत ज्याला रु १० हजार खर्च भएको छ।

असार २०, २०७९ सोमबार १०:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।