प्रतिनिधि सभाको बैठक: प्रधानमन्त्री देउवाले नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने

प्रतिनिधि सभाको बैठक: प्रधानमन्त्री देउवाले नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने

काठमाडौंः प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आज दिउँसो १ बजे प्रतिनिधि सभाको ११औं अधिवेशनको ३३औं बैठक बस्ने भएको हो।

आज प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले “नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७÷२०७८” पेश गर्नेछन्।

यस्तै आज सभामुख अग्नि सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन्। यता प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभामा उत्पति भएका चार विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त
सन्देशको जानकारी गराउने छन्। उनले विनियोजन विधेयक, २०७९, आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ बारे सन्देशको जानकारी गराउने छन्।

यसका साथै राष्ट्रिय सभामा उत्पत्ति भएका औषधी (तेस्रो संशोधन) विधेयक, २०७९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ र रेल्वे विधेयक, २०७९ राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित आज टेबुल गर्ने कार्यसूची रहेको छ।

आज कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नेछन्।

यस्तै प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको “नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ लाई दफावार छलफलको
लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवन्द्र पौडले “शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथि छलफल
गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै “मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै आज प्रतिनिधि सभामा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले “ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यका रूपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै “ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यका रूपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

असार २०, २०७९ सोमबार १०:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।