प्रदेश सांसद यादव साधारण सदस्य समेत नरहने गरी जसपाबाट निष्काशित

काठमाडौंः जनता समाजवादी पार्टी (जसपा) ले एक प्रदेश सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशित गरेको छ। पार्टीले मधेश प्रदेशका प्रदेश सांसद कौशलकुमार यादवलाई कारबाही गरेको जसपा महोत्तरी जिल्ला समन्वय समितिका अध्यक्ष रामप्रकाश यादवले एक विज्ञप्तिमार्फत जानकारी दिएका हुन्।
निष्काशित यादव महोत्तरी क्षेत्र नम्बर ४ को (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुन्। उनीमाथि सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोग पनि थियो।
२०७२ भदौ २५ मा जलेश्वरमा भएको आन्दोलामा विक घाइते भएका थिए। उनलाई उपचारका लागि जनकपुर लग्दै गर्दा हत्या गरिएको थियो।
हत्या आरोपमा यादवसहित १९ जनाको सम्पत्ति रोक्का गर्न जिल्ला अदालत महोत्तरीले आदेश दिएको थियो।
उनीसँगै संघीय शिक्षक फोरमका महोत्तरी जिल्ला अध्यक्ष कौशलकुमार यादवलाई पनि पार्टीले निष्काशन गरेको छ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेकाले कारबाही गरिएको पार्टीले ठहर गरेको छ।
असार २०, २०७९ सोमबार ०८:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।